काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका पाँच वटा रिटको पेसी आज (शुक्रबार) लाई तोकिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्चमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् ।
संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा रिट दायर गरिएको थियो । अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्।
नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा परेका पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरिसकेको र रिटको पेसी आजलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।
राष्ट्रपतिको कदमको समर्थन र विरोधमा यतिबेला राजनीति तातेको छ । सत्ता गठबन्धन दल र तिनका भातृ संगठनहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको कदमको प्रंशसा गरेको छ ।
पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने नागरिकता विधेयकलाई राष्ट्रघाती भनेको छ । तर, राष्ट्रपतिको कदमप्रति पुरै समर्थन गरेको छैन । राष्ट्रपतिको कदम प्रतिगामी उद्देश्यअनुसार हुनसक्ने राजमोको आशंका छ ।
नेकपा (मसाल) ले राष्ट्रपतिको कदमलाई एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा भएको ‘अभिनय’ बताएको छ ।
- राष्ट्रपति कदमको तरंग : सत्ता गठबन्धनको विरोध, राजमोको अडान कायमै
- सत्तारुढ चार दलले भने : राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार
- नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै सर्वोच्चमा पाँचवटा रिट
- नागरिकता विधेयक राष्ट्रघाती, राष्ट्रपतिको कदम ‘अभिनय’ मात्रै : मसाल