गोपालप्रसाद भट्टराई, अर्घाखाँची ।
नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आसन्न निर्वाचनमा प्रतिगमन विजयी भएमा देश फेरि संकटमा जाने चेतावनी दिनुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महामन्त्री सिंहले प्रतिगमनको पुनरागमनले मुलुक ५० वर्ष पछाडि धकेलिने आशंका व्यक्त गर्नुभयो । एमालेले प्रतिगमनको नेतृत्व गर्नु दुःखद भएको महामन्त्री सिंहको भनाइ छ ।
‘विश्वको इतिहास हेर्दा कम्युनिस्टले जहिलेपनि अग्रगमनलाई समर्थन गरेका छन्,’ महामन्त्री सिंहले भन्नुभयो, ‘नेपालमा प्रतिगमनको नेतृत्व कम्युनिष्टले गर्नु दुःखद हो ।’
प्रतिगमन हार्ने या जित्ने आसन्न निर्वाचनले फैसला गर्ने भन्दै महामन्त्री सिंहले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ ।
कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालको राजनीतिक आन्दोलनमा असोज ३ ऐतिहासिक दिन भएको टिप्पणी गर्नुभएको छ ।
संविधानमा आफूहरुका भिन्न मत हुँदाहुँदै पनि अहिलेको अवस्थामा संविधान कार्यान्वयनको विकल्प नभएको उहाँको धारणा छ । राष्ट्रिय जनमोर्चाले सत्ताको स्वाद चाख्न कम्युनिष्टको सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै विपक्षीले लगाउने आरोपमा सत्यता नभएको महासचिव भट्टको दाबी छ ।
आवरणमा देखिने एमाले मात्रै हैन भारत र राजावादीको समेत ठुलो साँठगाँठ रहेकोले प्रतिगमनको विरुद्ध मोर्चा बनाउनु परेको उहाँले जिकिर गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसीको अध्यक्षता, सचिव बाबुराम पन्थीको स्वागत मन्तव्य र जिल्ला अध्यक्ष थम्मन केसीको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा राजमो केन्द्रीय सदस्यद्वय झविलाल थापा, सागर केसी र नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालले मन्तव्य राख्दै आसन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रदेशसभा क्षेत्र नम्बर १ आफूहरुको बटमलाइन भएको जानकारी दिँदै निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
जिल्लाका ६ वटै पालिकाबाट २ सय जना अगुवा कार्यकर्ता सहभागि भएको प्रशिक्षण कार्यक्रम आज समापन हुने राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ ।