नैरोबी । अफ्रिकी देशमा शान्तिसुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले दाबी गरेको छ ।
यहाँका आन्तरिक द्वन्द्व एवम् अन्य विवादका विषयमा भएका अफ्रिकी देशका सामूहिक प्रयासका कारण यी देशको शान्तिसुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो ।
अफ्रिकी युनियनका एक जना अधिकारीले अफ्रिकी देशमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रूपमा प्रयास गरेका थिए । सोही प्रयासका कारण यहाँको शान्तिसुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताउनुभएको हो ।
केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उहाँले बिहीबार भन्नुभयो– ‘यो सुधार अफ्रिकी देशको सामूहिक प्रयासको प्रतिफल हो ।’
यसका साथै यी देशहरूले नागरिक समाजका विभिन्न सङ्घ–सङ्गठनको परिचालनका साथै शान्तिसुरक्षा कायम राख्नका लागि शान्तिसेना पनि परिचालन गरिएको छ ।
यी प्रयास अफ्रिकी देशले सामूहिक रूपमा गरिरहेका र नागरिक सङ्घसंस्थालाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । (रासस/सिन्हवा)