रियाद । सउदी अरबको एउटा अदालतले एक जना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । सउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पु¥याएको आरोपमा सउदी अरबको सबैभन्दा ठुलो जनजाति समूहकी महिला नोराह बिन्त सइद अल काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्युजले जनाएको छ ।
अल काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्नेबारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्विट गरेकी थिइन् ।
यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्विट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा विरोध भएको थियो । (रासस/एएनआई)