दमासकस । इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको हो ।
सो क्षेप्यास्त्र सिरियाको उत्तरी सहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको थियो । सिरियाली उत्तरी सहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
मध्यरातमा विमानस्थलनजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि यहाँको सैनिक शिविरमा पनि सो हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ । सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ तर कतिपय भौतिक संरचनामा सो आक्रमणबाट क्षति पुगेको भने सेनाले जनाएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त नभएको यहाँका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)