इस्लामाबाद । पाकिस्तानले गैरआवश्यक र विलासिताका सामानको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार सो घोषणा गर्नुभएको हो ।
Advertisement
मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा सहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकता उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताउनुभएको छ ।
पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) को मागानुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताउनुभएको छ ।
कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुको आयात घटाउन सरकारले धेरै वस्तुमा उच्च भन्सार लगाउने इस्माइलले बताउनुभएको छ । (रासस/एएनआई)