काठमाडौं । पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताउनु भयो ।
उहाँले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिष्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रुपमा राख्दै मापदण्ड तय गर्ने बताउनु भयो । उहाँले सिट बाँडफँटको टुंगो सकेसम्म आउँदो बुधवारसम्म सक्ने लक्ष्य रहेको बताउनु भयो ।
उहाँले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनशाय रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएका छौँ । बुधवार ४ बजे फेरि हामी बसेर त्यसपछि केही कुरा म भनौँला । सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु समानुपातिक मत, त्यसपछि वि.सं. २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मत एउटा आधार हो ।
तर माधव नेपालको पार्टी जो एकीकृत समाजवादी छ, उहाँहरुले त २०७४ सालमा चुनाव लडेको छैन । त्यसलाई विशिष्ट रुपमा राखेर हामी मापदण्ड तय गरेर अघि बढ्नेछौँ । सिट बाँडफाँटको टुंगो चाँडै गर्नुपर्छ । हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनशाय छ ।’ सिट बाँडफाँट कार्यदलको बैठक बुधवार ४ बजे बस्नेछ ।