धुन्चे । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीमाझ झडप हुँदा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् ।
गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल बिद्युत् सेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीमाझ २०७९ साउन २९ गते आइतबार झडप भएको हो ।
सान्जेन जलबिद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ ।
सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले बिद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षमाझ झडप भएको थियो । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् ।
आन्दोलनरत गतलाङवासीको मागलाई सान्जेन जलबिद्युत्का आयोजना प्रमुख र सञ्जेन जलबिद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले स्थानीयवासीको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् ।
स्थानीयवासीले सान्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छओटा मोटर साइकल अफिस तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ । स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका संयुक्त सुरक्षाबलले अश्रुग्याँस र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिनुभयो ।
स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)