काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा घर झगडाले परिवारै सखाप भएको छ ।
काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती र दुई छोरा छोरीलाई चक्कु हानेर हत्या गरेपछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बाबु आमाको झगडाका कारण कलिला छोरा छोरीलेसमेत ज्यान गुमाएका छन् ।
४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक मृत भेटिएका हुन् । घरभित्र मृत भेटिएका चारै जनाको शरीरमा चोट लागेको छ भने घटनास्थलमा चक्कु फेला परेको छ ।
सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फुटाएर घरभित्र जाँदा दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए।
प्रहरीका अुनसार दिनेश पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको खुलेको छ।
पति पत्नीबीच सम्पतीको विषयमा झगडा हुने गरेको र सोही कारण सुनिता बेलायत जान तयार भइसकेको अवस्थामा परिवारै सखाप भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।