काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता नलाग्नुको कारण उच्च तहको संलग्नता भएको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्त१ नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको दिन सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै महामन्त्री सिंहले अपराधमा उच्च तहका व्यक्तिहरु सामेल भएकै कारण प्रहरीले प्रमाण मेटाएको आरोप लगाउनुभएको छ ।
‘यो कुरा प्रष्ट छ कि त्यो अपराधमा संलग्न व्यक्तिहरु उच्च तहका नै थिए । त्यो कुरा यसबाट पनि थाहा हुन्छ कि त्यो काण्डको तुरुन्त पछि नै स्वयम् पुलिस कर्मीहरु नै त्यो घटनाका प्रमाणहरु मेटाउने काममा लागेका थिए’ सिंहले लेख्नुभएको छ, ‘त्यसरी त्यो अपराधसँग सम्बन्धित व्यक्तिहरु अहिलेसम्म पत्ता लाग्न नसक्नुको कारण उच्च तहका व्यक्तिहरु नै त्यो घटना सँग सम्बन्धित व्यक्तिहरु हुनु नै मुख्य कारण भएको कुरा प्रष्ट छ ।’
१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्। यस्तो जघन्य अपराध भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।
निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।
सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीले बताएको छ । चार वर्षसम्म पनि अपराधी पहिचान हुन नसक्दा निर्मलाको परिवारले न्याय पाउने आशा मारेको छ।
निर्मला प्रकरणको अनुसन्धानका क्रममा चार वर्षको अवधिमा प्रहरीले शंकास्पद १०७ जनाको डीएनए परीक्षण गरेको छ भने शंकास्पद सयौँसँग सोधपुछ गरेको छ। तीन जनाको डीएनए रिपोर्ट आउन बाँकी छ।
चार वर्षदेखि विभिन्न कोण र टोली बनाएर अनुसन्धान गरिरहेको प्रहरी अहिले पनि कुहिरोको काग जस्तै बनेको छ ।