काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीका कार्यकर्तामा आलोचनात्मक चेत नभएको बताउनुभएको छ ।
राजधानीमा शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’को छलफलमा भाग लिँदै नेता श्रेष्ठले एमाले र आफ्नै दलका कार्यकर्तामा ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेत नभएको बताउनुभएको हो ।
सँगै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उहाँले ताली बजाउने भीड जम्मा गर्न आतुर भएको टिप्पणी गर्नुभयो ।
‘आलोचनात्मक चेत छाडिदिएर नागरिक समाजका भन्ने भए पनि एउटा एउटाको झण्डा बोकेर कहिल्यै देश बन्दैन। ठीकलाई ठिक र बेठीकलाई बेठीक भन्ने चेत हुनुपर्यो नि,’ उहाँले भन्नुभयो, ‘‘नेकपा एमालेकै होस्, केपी कमरेड यहीँ हुनुहुन्छ, उहाँले भनिसकेपछि ताली कहिले बजाउने भनेर आतुर छ, आलोचनात्मक चेत छैन ।’
एमालेमा जस्तै माओवादी केन्द्रमा पनि यही समस्या भएको उहाँको भनाई थियो ।
‘नेकपा माओवादी केन्द्रमा पनि प्रचण्ड कमरेड क्रान्ति नायकले भनेपछि कहिले ताली बजाउने हो,’ श्रेष्ठले भन्नुभयो, ‘ठिक बेठीक हेर्नु छैन।’