काठमाडौं । अछामको सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका हुन्।
स्थानीयले नाराबाजीसहित सरकारी वकिल कार्यालय र अदालत घेर्न खोज्दा सदरमुकाम मंगलसेनमा तनाव उत्पन्न भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । अभियुक्तलाई अदालतमा पेश गर्ने समयमा घेराउ गर्न खोजेपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।
१७ गते राति बेपत्ता भएका विनोद २१ गते बिहान गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका थिए।
विनोदको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउने हत्या आरोपमा पक्राउ