काठमाडौं । ‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमलाई सो दलले निष्कासन गरेको छ । यही असार १४ गते घोषणा भएको सो पार्टीका संयोजक गौतमलाई बहुमत सदस्यले हटाएर युवराज सफललाई नयाँ संयोजक बनाएका छन् ।
नेता गौतमले असार १४ गते आफ्नै अध्यक्षतामा ‘‘नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको थियो । तर, पार्टी घोषणा गरेको पाँच दिनमै गौतमलाई आफैँले जोडजाड पारेका साना दलका नेताले बहुमत पुर्याएर हटाएका हुन् ।
वामदेवलाई हटाएर एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्तिमा भनिएको छ, ‘आम नेपाली पार्टी प्रमुखहरुको बैठक सतुंगलस्थित एक पार्टी प्यालेसमा बसी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड वामदेव गौतमलाई अभियानमा जोडिएका चार पार्टीको बहुमतबाट अभियानको संयोजकबाट निष्काशन गरिएको छ ।’
हाललाई अभियानको असार ११ गते निर्माण गरिएको केन्द्रीय समिति भंग गर्दै पछि विस्तार गर्न मिल्ने गरी नयाँ केन्द्रीय समिति चयन गर्ने निर्णय पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो ‘पार्टी उद्घाटनका दिन सारा दुनियाँ चकित हुनेछ’ भन्दै वाम एकताको प्रस्ताव लिएर केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई भेट्न दौडिएका गौतमलाई पाँच दिनमै पार्टीबाट निस्काशित गरिएको हो ।