काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाउन सत्तासाझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री भएका पाण्डेले गत ७ असोजमा भएको सहमति कार्यान्वयन नभएको सत्तासाझेदार दलको आरोप छ । सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन्।
पाण्डे मुख्यमन्त्री बन्नेक्रममा पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको बताइएको छ ।
एक प्रदेशसभा सदस्यका अनुसार आवश्यक परेको खण्डमा प्रयोग गर्नेगरी हस्ताक्षर संकलन सुरु भएको हो।
बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज पास गरेको छ। यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए।
११ कात्तिक ०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले करिब ८ महिना सरकार चलाइसकेका छन्। सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाइरहँदा अब पुग नपुग ५ महिना कार्यकाल बाँकी छ।
सरकार परिवर्तन गठबन्धन केन्दको निर्णयअनुसार : मुख्यमन्त्री पाण्डे
यसैबीच मुख्यमन्त्री पाण्डेले सरकार परिवर्तसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताउनुभएको छ ।
‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ,’ उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।’