नयाँदिल्ली । भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्निपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् ।
प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दा बढी रेलसेवालाई प्रभावित पारेका छन् भने ठुलो भौतिक क्षति भएको छ ।
अग्निपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन् । उनीहरूले अन्याय र अव्यावहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् ।
भारतको सङ्घीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्निपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् ।
भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीनओटै सैन्य सेवामा जवान पदका लागि चार वर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने अग्निपथ योजनामा उल्लेख गरिएको छ । त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरू अवकास हुनुपर्ने व्यवस्था गरिएको छ । भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवाहरू आक्रोसित भएका हुन् । ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन् ।
सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दाबी गरे पनि युवाले भने यसलाई अव्यावहारिक र अन्यायपूर्ण भएको दाबी गरेका छन् । आन्दोलनकारी युवाले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको भरपर्दो अवसरलाई सरकारले खोसेको आरोप लगाएका छन् । चार वर्षे जागिरले युवालाई जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्यौलपूर्ण हुने उनीहरूको भनाइ छ ।
आन्दोलनकारीले विषेश गरी रेल सेवालाई क्षति गरेकाले हिंसात्मक र क्षति हुने गतिविधि नगर्न सरकारले उनीहरूलाई आग्रह गरेको छ ।
रेलमन्त्री अश्विनी वैष्णवले रेल सेवामा क्षति पु¥याउँदा आम नागरिकलाई नै घाटा हुने भएकाले रेल सेवालाई प्रभावित नपार्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना मागलाई शान्तिपूर्ण तरिकाले उठाउन सुझाव पनि दिनुभएको छ । (रासस÷एएनआई)