काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गर्नुभएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि उहाँ २०७९ असार ४ गते त्यता प्रस्थान गर्नुभएको दाबी गरिएको छ ।
प्रधान सेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधीकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभयो ।
यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्र सङ्को आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण गर्नुका साथै उक्त मिशनको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत बारेमा जानकारी लिने कार्यक्रम छ ।
भ्रमणका क्रममा, प्रधान सेनापति शर्माले लेबनान र सिरियाका युएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
लेवनान प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई शुक्रबार जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।
उक्त निरीक्षण भ्रमणपश्चात् प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३–१७ गतेसम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ ।
अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी रहेका छन् । उहाँको भ्रमण अवधिभर बलाधीकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने बताइएको छ । प्रधान सेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।