काठमाडौं । महिला तथा केटीहरुको प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ परेको छ । पक्राउ पर्नेमा दुई जना महिला र चार पुरुष छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरुको प्रयोग गरी ठगी गर्ने गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वषृ ३० को पासाङ लामा रहेका छन् ।
प्रहरीका अनुसार सो समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर ब्ल्याकमेल गर्ने तथा केटीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेका छन्।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलिले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।