काठमाडौं । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन नेपाल आइपुगेका छन् । चारदिने नेपाल भ्रमणका क्रममा उनी बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
आगामी असारमा प्रधान सेनापति शर्मा र त्यसपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने कार्यक्रम छ ।
त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका प्राध्यापक खड्ग केसीले एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण बाक्लिँदै गएको र स्वभाविक रुपमा एमसीसी इण्डोप्यासिफिकको अंग होइन भनेपनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताउनु भयो ।
उहाँले एमसीसी विशुद्ध विकास परियोजना भएको भए यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदा पन िफरक नपर्ने बताउनु भयो । प्राध्यापक केसीले छिमेकसँगको सम्बन्ध नेपालको सुरक्षाको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने र त्यसपछि मात्रै समृद्धिको सपना देख्ने र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनिभुत बनाउने कुरा रहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय सुरक्षाका हिसावले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नु नहुने बताउनु भयो । प्राध्यापक केसीले छिमेकीको चित्त दुखाएर टाढाको देशलाई सरकारले प्राथमिकतामा राख्छ भने त्यसलाई सरकारको बुछिमतायुक्त काम भन्न नसकिने जिकिर गर्नुभयो ।
अमेरिका विश्व शक्ति भएकोले जुनकुनै देशमा जाने कुरा सामान्य भएपनि अमेरिकाबाट के ग्रहण गर्ने र नगर्ने भन्ने कुरा देशले स्वयं विचार गर्नुपर्ने बताउनु भयो ।
प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताउनु भयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताउनु भयो ।
उहाँले धेरै गठबन्धन हुनु भनेको सरकार कमजोर हुनु रहेको भन्दै गठबन्धनमा सम्मिलित कुनै दलले कहिले पार्टी छोड्ने हो भन्ने चिन्ता नेतृत्वलाई हुने गरेको बताउनु भयो । प्राध्यापक केसीले नेपालको समकालीन राजनीतिक नेतृत्वहरु सत्ता केन्द्रित र बेइमानी भएपनि मुलुकलाई कुनैपनि सुरक्षा सम्झौतामा लगेर दुर्घटनामा पु¥याउन नसक्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले अमेरिकाबाट आर्थिक सहयोग, विज्ञान र प्रविधिका कुराहरु सिकेर अहिलेको जस्तै सम्बन्ध सुमधुर राख्नुपर्ने तर पछिल्ला भ्रमणका घटनाक्रम हेर्दा नेपालका राजनीतिक नेतृत्वहरु देशप्रति भन्दा विदेशी शक्तिप्रति ढल्किएको भान हुन थालेको बताउनु भयो ।
प्राध्यापक केसीले सत्तारुढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिहरुको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको बताउनु भयो ।
एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आउनुभएको थियो । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्राण्डको नेतृत्वको सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथामध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल भ्रमण गर्नुभएको थियो ।
बिहीवार ४ दिने नेपाल भ्रमणका आउनुभएका प्रमुख चाल्र्स ए फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।