काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापना गर्ने स्थान सिसडोलको एक किलोमिटर परसम्मको पानीमा प्रदूषण भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञटोलीले गरेको अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको हो । 
डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको हो। लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो।
सिसडोलबाट संकलित तीन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ।
यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ। विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।
पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ।