काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौंवासीले गरेको पापको भोगी सिसडोवासी हुनुपरेको बताउनुभएको छ ।
सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मेयर शाहले काठमाडौं वासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।
मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’
त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताउनु भयो । उहाँले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागिपर्ने बताउनु भयो ।
काठमाडौं नगर कार्यपालिकाको बैठक आज ४ बजे बस्ने र बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ ।