काठमाडौं । गएको शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत ६२७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
७५३ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म देशभरका ६२७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले २७९ स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ।
एमालेले अहिलेसम्म १७३ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।
माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा उसले अग्रता कायम राखेको छ।
अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था सुधार गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले १२ स्थानीय तहमा अग्रता कायम गरेको छ।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ स्थानीय तहको प्रमुख जितेको छ। ५ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।
अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म ७ स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका ५ स्थानमा अग्रता कायम राखेको छ।
राष्ट्रिय जनमोर्चाले ४ स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिका गरी २ स्थानमा प्रमुख जितेको छ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका २ पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका २ पालिका प्रमुख जितेको छ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ।