प्योङयाङ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिको सङ्ख्या सोमबारसम्म १४ लाख ८० हजार पुगेको छ । कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार यस्तो जानकारी दिएको छ ।
त्यहाँ सोमबार मात्रै दुई लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् । तीमध्ये एक लाख ७० हजार ४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।
अप्रिलको अन्त्यमा देशमा ज्वरोको प्रकोप भएदेखि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन् भने छ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।
मङ्गलबारको अर्को रिपोर्टमा समाचार एजेन्सी केसिएनएले औषधीको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीमा तैनाथ गरिएको र चौबिसै घण्टा सेवाप्रणालीअन्तर्गत औषधि आपूर्ति गर्न थालेको बताएको छ ।
केन्द्रीय आपतकालीन महामारी रोकथाम क्षेत्रले यो रोगबाट निको भएका व्यक्तिमा पुनः सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ । साथै देशभरका औषधी कारखाना र चिकित्सा उपकरण कारखानाले अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन् ।
प्योङयाङले बिहीबार देशको पहिलो कोभिड–१९ सङ्क्रमणको पुष्टि गर्दै देशव्यापी तालाबन्दी घोषणा गरेको छ । (रासस–एएनआई÷सिन्ह्वा)