काठमाडौँ । रुकुमपूर्वमा एमाले कार्यकर्ताको हत्या भएको छ । गत शुक्रबार माओवादीसँग भएको झडपपछि बेपत्ता भएकी एमाले कार्यकर्ता डोटी बुढा ‘जुनमाया’को शव भेटिएको हो।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार वैशाख १९ गते झडपपछि गायव उनको शव मंगलबार घरबाट तीन किलोमिटरको दूरीमा भेटिएको हो।
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ टक्सेरामा गत शुक्रबार माओवादी कार्यकर्ताले एमाले र कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए।
एमालेको घरदैलोका क्रममा आक्रमण हुँदा ६ जनालाई गम्भीर चोट लागेको थियो। त्यही झडपपछि बुढालाई बेपत्ता पारिएको थियो।
प्रहरीले घटनामा संलग्न भनिएका माओवादी केन्द्रका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माओवादीबाट वडाअध्यक्षका उम्मेदवार जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा र कुमार सिंह रहेका छन्।