महेन्द्रनगर । स्थानीय तह निर्वाचनका लागि टिकट लिन गइरहेका नेकपा (एमाले) का नेताहरु सवार गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आइतबार एमालेका सांसद दीपक प्रकाश भट्टसहित एमाले नेताहरु सवारी जिपको ठक्करबाट दुई जना घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय झलारीका अनुसार बागमती प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म २ प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएका छन् ।
जिपको ठक्करबाट घाइत भएका राजकुमार र करनको टाउको र खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धनगढी लगिएको छ ।
जिपमा एमालेका सांसद डा. दीपकप्रकाश भट्ट, निरुदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सवार रहेको खुलेको छ ।