प्युठान। प्युठानमा पाँच दलीय गठबन्धन जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्न सहमत भएका छन् ।
सोमबार बसेको पाँच राजनीतिक दलको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
९ वटा स्थानीय तह र ६४ वडा रहेको प्युठानमा सबै तहसहित जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय भएको नेताहरुले बताएका छन् । पदको बाँडफाँट भने भई नसकेको बताइएको छ ।
पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनबीच आपसी समझदारी र सहकार्य साथ अघि बढ्ने बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बोमबहादुर खत्री, केन्द्रीय सदस्य एवम् जिल्ला अधयक्ष कृष्णबहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु कुमार गिरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भोजविक्रम बुढा मगर र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजलगायत नेताहरुको सहभागिता थियो ।