काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलवार बिहान सर्वोच्च अदालत परिसरमा विभिन्न ६ ठाउँमा मतगणना कार्य शुरु भएको निर्वाचन अधिकृत सानुराज पोखरेलले बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतको १ नम्बर हलमा सर्वोच्च अदालतको मतगणना गर्ने कार्य प्रारम्भ भएको छ भने नम्बरमा वीरगञ्ज, पर्सा मतदान केन्द्रको मतपत्रहरुको मतगणना गरिएको बताउनु भयो ।
त्यस्तै, तीन नम्बरमा ललितपुर मतदान केन्द्रबाट आएको मत गणना गरिएको हो भने नम्बरमा सर्लाहीको मतदान केन्द्रको मतगणना प्रारम्भ भएको छ । निर्वाचन अधिकृत पोखरेलले पाँचौँमा लाइबेरी कक्षमा इलाम मतदान केन्द्रको मतगणना कार्यको प्रारम्भ भएको छ भने छैटौँमा मेलमिलाप केन्द्र सभा कक्षमा महेन्द्रनगर मतदान केन्द्रको मतगणना कार्यको प्रारम्भ भएको बताउनु भयो । उहाँले अबको केही समयपछि मतगणनाको शुरुवाती नतिजा प्रकाशन गर्ने पनि बताउनु भयो ।
निर्वाचन अधिकृत पोखरेलले यस वर्षको मतगणना कार्य विगतको भन्दा फरक रहेको बताउनु भयो । विगतमा उपत्यका बाहिरको मतगणना कार्य सकिएपछि उपत्यकाको मतगणना गर्ने गरिएपनि यस वर्ष उपत्यकाका दुई स्थान सर्वोच्च अदालत र ललितपुरको मतगणना पनि उपत्यका बाहिरको मतगणनासँगै शुरु गरेको बताउनु भयो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो ।