काठमाडौँ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध ९६ जना केन्द्रीय सदस्य उजुरी बोकेर निर्वाचन आयोग पुगेपछि मिश्र अल्पमतमा पर्नुभएको छ ।
यसअघि सो पार्टीले संयोजक मिलन पाण्डेलगायतका केन्द्रीय सदस्यलाई कारबाही गरेको थियो । पाण्डे समूह मिश्रविरुद्ध सर्वोच्च अदालत पुगेको छ । सो मुद्दा सर्वोच्चमा विचाराधीन छ भने पाण्डे समूहले बेग्लै गतिविधि अगाडि बढाएको छ ।
पछिल्लो समयमा अध्यक्ष मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकता गर्ने तयारी गरेपछि विवाद बढेको हो ।
जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षतामा बसेको असन्तुष्ट समूहको बैठकले मिश्रलाई अध्यक्ष पदबाट निस्कासन किन नगर्नु ? भनेर ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको थियो।
त्यसका साथै स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही सम्पन्न नहुँदासम्म मिश्रलाई थप बैठक आह्वान गर्न रोक लगाउने, डाकिएका सबै बैठक स्थगित गराउने र कुनै पनि बैठकको अध्यक्षता गर्न रोक लगाउने लगायत चार बुँदे निर्णय गरेको थियो।
असन्तुष्ट समूहको निर्णय र मिश्रलाई कारवाहीको माग राख्दै संगठन विभाग प्रमुख निर्देश सिलवाललगायत केन्द्रीय सदस्यहरुले सोमबार निर्वाचन आयोग निवेदन दर्ता गराएका छन्।