बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले पार्टीको नाममा ढोरपाटन नगरपालिकामा गरिएको कथित भेलाप्रति आपत्ति जनाएको छ ।
राजमोले सोमबार एक विज्ञप्ति प्रकाशित गरी पार्टीका साधारण सदस्यसमेत नरहेका व्यक्तिले राष्ट्रिय जनमोर्चाको नाममा भेला गरेको भन्दै आपत्ति जनाएको हो ।
जिल्ला सचिव भीमलाल पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा ढोरपाटन नगरपालिका वडा नं ४ का अध्यक्ष तिलक पुनलाई पार्टीले अनुशासन सम्बन्धी कारबाही गरी पार्टीबाट पहिले नै हटाइसकेको स्पष्ट पार्नुभएको छ । साथै, भेलामा उपस्थित अन्य व्यक्तिबारे पार्टीले थप अनुसन्धान गर्ने विज्ञप्तिमा जनाइएको छ ।
साथै, राजमोले कथित भेलाबाट कुनै भ्रममा नपर्नसमेत कार्यकर्ता एवम् शुभचिन्तकहरुसँग अपिल गरेको छ ।
यस्तो छ, विज्ञप्ति
राष्ट्रिय जनमोर्चा असन्तुष्ट पक्षको भनि गरिएको ढोरपाटन नगरपालिका स्तरीय भेला र त्यसबाट पार्न खोजिएको भ्रमप्रति राष्ट्रिय जनमोर्चा बागलुङको गम्भीर ध्यानाकर्षण भयको छ।
मिति २०७८ चैत्र १२ गते जिल्लाको बुर्तिबाङमा हाम्रो पार्टीले कारबाही गरेका र पार्टी मै नभएका केही व्यक्तिहरुको समूहले राष्ट्रिय जनमोर्चा को नाममा जुन भेला गरिएको छ त्यो पार्टीको विरुद्धमा गरिएको गतिविधि हो। ढोरपाटन नगरपालिका वाड न. ४ का अध्यक्ष तिलक पुनको विशेष उपस्थितमा भेला आयोजना गरिएको छ । उहाँ गत स्थानीय निकायको निर्वाचन मा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा निर्वाचित जनप्रतिनिधि भएतापनि पार्टी अनुसासनमा बस्न नसकेको र पार्टी विरोधी काम गरेका कारण पार्टीबाट निष्कासन मा पर्नुभएको हो ।भेलामा अतिथि र सहभागीको रुपमा जो जति साथीहरू उपस्थित हुनुभएको छ, उहाँहरु बारे पार्टीले थप अनुसन्धान पछाडि धारणा स्पष्ट पार्ने छ ।
पार्टीको कारबाही मा परेका, लामो समयदेखि पार्टीकाममा सक्रिय नरहेका केहि मान्छेहरुको समूहले कथित भेलाको नाममा कार्यकर्ताहरूलाई भ्रममा पारेर आफ्नो स्वार्थ पुरा गर्न लागेको हुनाले त्यस्ता पार्टी विरोधी अराजक तत्वहरुबाट पार्ने कुनै भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछौं ।
भिमलाल पोखरेल
सचिव
२०७८चैत्र १२गते