काठमाडौँ । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिद्वारा एम.सी.सी. को विरुद्धमा २०७८ फागुन ३० गते जुलुस सम्पन्न भएको छ ।
काठमाडौँ माइतीघर मण्डलामा सम्पन्न एम.सी.सी. खारेजीको लागि प्रदर्शन तथा सभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष ईश्वर तिमिल्सिनालगायतका मजदुर नेताहरूको नेतृत्व रहेको थियो ।
सो अवसरमा उहाँहरूले राष्ट्रघाती एम.सी.सी. खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, स्वाधीनता र स्वाभिमानमाथि आँच पु¥याउने कार्य बन्द गर्न, साम्राज्यवादीको दलाली गरी नेपाल र नेपालीमाथि दीर्घकालीन असर पुर्याउने रणनैतिक कार्यहरू नगर्न र असंलग्न पञ्चशीलको सिद्धान्तको बैदेसिक नीति अबलम्बन गर्न तथा छिमेकीहरूसँगको सन्तुलित सम्बन्ध कायम गर्न/गराउन माग गर्नुभयो ।
त्यसैगरी वक्ताहरूले मजदुर विरोधी श्रम कानुन, नियम खारेज गर्न, नो वर्क नो पे र हायर एन्ड फायर नीति बन्द गर्न पनि आवाज उठाउनुभयो ।
सम्बोधनको क्रममा वक्ताहरूले पेट्रोलियम पदार्थलगायतका वस्तुको चर्को मूल्यवृद्धि फिर्ता गर्न र बजार महङ्गी नियमन, नियन्त्रण गर्न जोडदार मागसमेत गर्नुभयो ।