काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी थालेको छ । संसदीय समितिबाट पास गरे अड्किएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ अगाडि बढाउने तयारी गरिएको हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणको पहलमा २३ र २५ फागुनमा गृह मन्त्रालयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँगको छलफलबारे कुराकानी भएको थियो। छलफलमा राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे गृह र कानुनमन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । सरकारले नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा धेरै नै समस्या देखिएको भन्दै प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।