काठमाडौँ । अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्र मन्त्री डा. नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहिबार द्विपक्षीय भेटवार्ता भएको छ ।
त्यस अवसरमा दुवै देशका परराष्ट्र मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्त्वपूर्ण पक्षको समीक्षा गर्नुका साथै दुई मुलुकबिच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगो रूपमा समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबिच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिहिबार नै परराष्ट्र मन्त्री डा. खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा. अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गर्नुभयो ।
उहाँहरूबिच आर्थिक सहयोग विस्तार तथा जनता–जनताबिचको सम्पर्क र पर्यटन प्रवद्र्धन, विशेष गरी पर्वतारोहण क्षेत्रलगायत विषयमा विचार आदानप्रदान भएको पनि उक्त मन्त्रालयले जनाएको छ ।
त्यसअघि परराष्ट्र मन्त्री खड्का नेतृत्वको प्रतिनिधि मण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीको समूहले छलफलका लागि स्वागत गरेको थियो । छलफलमा भाग लिँदै नेपाली प्रतिनिधि मण्डलले दुई देशबिचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीसँग आग्रह गरेको थियो । विशेष गरी मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालमा लगानी भएको क्षेत्रमा व्यापारका अवसर पहिल्याउन उहाँहरूलाई आमन्त्रण गर्नुभएको थियो ।
फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्र मन्त्री र नीति निर्माता तथा विज्ञको सहभागितामा “लोकतान्त्रिक शासन र सुरक्षा” तथा “दिगो क्षेत्रीय विकासका लागि नयाँ एसिया” विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई उहाँले सम्बोधन गर्नुहुने छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र तिनको समाधानमा केन्द्रित भएर छलफल हुने भएको छ ।
नेपाल र टर्कीबिच कूटनीतिक सम्बन्ध स्थापना भएको साठिऔँ वर्षप्रवेशको सन्दर्भमा भएको परराष्ट्र मन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ । (रासस)