टेकराज भुसाल बुटवल ।
अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा जारी छ । हिजो (फागुन २५) देखि सुरु भएको राष्ट्रिय भेला तथा प्रशिक्षण तीन दिनसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, युवक संघका पूर्वअध्यक्ष तिलक थापा लगायत नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिइरहनुभएको छ ।
राष्ट्रिय भेला तथा प्रशिक्षणका क्रममा आज प्रशिक्षणकै कार्यक्रम हुने र भोली बन्द सत्रको कार्यक्रम गरिने संघका कार्यवाहक अध्यक्ष कृष्णराज पाण्डेले जानकारी दिनुभएको छ । बन्द सत्रमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विशेष प्रस्ताव, आगामी कार्यक्रमलगायतका प्रस्ताव पारित गर्दै नयाँ नेतृत्व चयन गरिनेछ ।

प्रशिक्षण भेलाको बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तिलक थापा, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम लगायतले राष्ट्रिय भेला तथा प्रशिक्षणात्मक भेलालाई शुभकामना दिनुभएको थियो।