काठमाडौं । नेकपा (माओवादी केन्द्र) का चार नेताले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयबारे फरक मत राखेका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता नारायणकाजी श्रेष्ठले मौखिक र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले लिखित फरक मत राख्नुभएको हो ।
तीन नेताले पार्टी निर्णय स्वीकार्दै फरक मत राखेका हुन् भने नारायणकाजीले भने एमसीसी पासको निर्णयलाई अस्वीकार गर्दै आउनुभएको छ ।
उहाँले एमसीसीमा राष्ट्रघात रहेको बताउँदै त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको बताउनुभयो । श्रेष्ठले अध्यक्ष प्रचण्डको निर्णय गर्ने स्वभावप्रति पनि कटाक्ष गर्नुभयो ।
‘एमसीसीले नेपाल छनौट गर्नुको कारण के थियो ? नेपाललाई रौँ चिरा पारेर किन एमसीसी आयो ?’ श्रेष्ठले प्रश्न गर्नुभयो ।
उहाँले गठबन्धनमा रहेकाले एमसीसी पूरै अस्वीकार गर्न नसके पनि संशोधन वा परिमार्जन गर्ने अडान कायम राख्न नसकेकोमा प्रचण्डप्रति असन्तुष्टि जनाउनुभयो । महाधिवेशनको निर्णय उल्ट्याउन नहुने बताउँदै समर्थन नै गर्नुपरे केन्द्रीय समितिबाट निर्णय गर्न सकिने समय हुँदा हुँदै प्रचण्डले वेवास्ता गरेको उहाँको जिकिर थियो ।
‘गठबन्धनमा भएका कारण एमसीसी पूरै फिर्ता पठाउने वा खारेज गर्न सकिने सम्भावना थिएन । त्यसबेला संशोधन वा परिमार्जनमा बल गर्नुपर्थ्यो, व्याख्यात्मक घोषणासहित अनुमोदनमा जाने भए त्यही दिन केन्द्रीय समिति बैठक बसेर निर्णय गर्न सकिन्थ्यो। त्यसो पनि भएन, व्यक्तिवादी बनेर आफूखुसी निर्णय गराइयो।’
श्रेष्ठले पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर एकांकी कार्यशैली देखाएको पनि टिप्पणी गर्नुभयो । उहाँले एमसीसी पास भएसँगै नेपाल विश्व महाशक्ति राष्ट्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताउनुभयो ।
‘एमसीसी राष्ट्रघाती हो, माओवादीले राष्ट्रघातलाई अनुमोदन गर्यो । ‘देशभक्त वामपन्थीहरुलाई यसले निकै पीडा दिएको छ’ श्रेष्ठले भन्नुभयो, ‘यो राष्ट्रघात हो । यसले हामीलाई महाशक्ति राष्ट्रको क्रीडास्थल बनाउने भयो, राष्ट्रिय आत्मनिर्भर बनेर राष्ट्रिय पुँजी बढाउने भन्दा परनिर्भरताको दिशातिर लग्यो ।’
एमसीसी पास गरेर माओवादीले संसदीय व्यवस्थाको बुर्जुवाकरणलाई स्वीकार्दै आत्मसमर्पण गरेको वरिष्ठ नेता श्रेष्ठको आरोप छ ।