काठमाडौँ । फागुन ४ गते बुधबार टेबुल हुन नसकेको एम.सी.सी. फागुन ६ गते टेबुल हुने सरकारका एक जना मन्त्रीले दाबी गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार यस्तो दाबी गरेका हुन् ।
संसद्को आगामी बैठक अर्थात् फागुन ६ गतेको एम.सी.सी. टेबुल हुने विश्वास उनले व्यक्त गरे ।
बुधबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसित कुराकानी गर्दै मन्त्री बडुले फागुन ६ गते बस्ने बैठकमा एम.सी.सी. टेबुल दृढ विश्वास व्यक्त गरे ।
‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरू दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर फागुन ६ गतेको बैठकमा एम.सी.सी. टेबुल गर्ने छौँ’ उनले भने ।
सो क्रममा उनले एम.सी.सी. टेबुल गर्ने विषयमा अब पर्खिन नसकिने बताए ।
मन्त्री बडूले भने– ‘एम.सी.सी. लाई धेरै पर्खिनुहुँदैन । यो संसद्मा प्रवेश गर्नुपर्छ । संसद्मा टेबल हुनुपर्छ । संसद्मा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौँ ।’
सञ्चारकर्मीसितको प्रतिक्रियामा उनले सडकमा भइरहेको बहसलाई टुङ्ग्याउन संसद्मा एम.सी.सी. टेबल गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने– ‘सडकको बहसले यसको टुङ्गो लगाउन सक्दैन । त्यसैले यसलाई टुङ्ग्याऊँ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एम.सी.सी. लाई संसद्मा टेबुल गराउने हाम्रो उद्देश्य हो ।’