रुकुमपूर्व । रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनाबाट चार जना घाइते भएका छन् ।
२०७८ फागुन ३ गते मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।
रा१च ३२४५ नं. को ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चार जना रहेका छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।
बाँकी तीन जनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो । (रासस)