काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिट आइतबार पेशीबाट हटाइएको छ ।
नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिट आज पेशी चढेपनि पेशीबाट हटाइएको हो ।
पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिनुभएको थियो । त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो।
लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका सुवेदीमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो। त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो।
माधव नेपालसहित १४ सांसदलाई एमालेले गत साउनमा कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गर्नुभएन ।
सोही क्रममा माधव नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । एमाले अध्यक्ष केपी ओलीले नेपालसहित १४ सांसदलाई कारबाही गर्न र एकीकृत समाजवादी खारेजीको मागसहित रिट दर्ता गराउनुभएको थियो ।