वसन्त खड्का, अर्घाखाँची ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै बुधबार अर्घाखाँचीमा विरोध प्रदर्शन गरिएको छ ।
अर्घाखाँचीमा कृयाशिल विभिन्न राजनीतिक दलहरुको संयुक्त आयोजनामा जुलुश प्रदर्शन सहित कोण सभा गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले एमसीसी परियोजना राष्ट्रघाती र नेपाली स्वाधीनता बिपरित भएको बताउनु भयो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेरबहादुर बिसीले देशको आन्तरिक व्यवस्थामा खलल पुर्याउने, नेपालीको स्वतन्त्र अस्मितामाथी खेलवाड गर्ने किसिमका कुनै पनि सन्धी सम्झौता लागू गर्न नहुने बताउनु भयो ।

उहाँले एमसीसी परियोजनाको राष्ट्रिय जनमोर्चाले सुरु देखिनै विरोध गर्दै आएको स्पस्ट पार्दै नेपालको आफ्नो संविधान र राष्ट्रिय स्वतन्त्रता भन्दा कुनै पनि सन्धी सम्झौता ठूलो नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाल, नेकपा माओवादी अर्घाखाँचीका खेम घर्ती र देशभक्त जनगणतान्त्रिक मोर्चा अर्घाखाँचीका प्रतिनिधि लगायत वक्ताहरुले सम्बोधन गर्दै एमसीसी सम्झौताको खुलेर विरोध गर्नुभएको थियो ।
भक्तिटोलबाट सुरु भएको जुलुश एमसीसी खारेज गर, राष्ट्रियताको रक्षा गरौं, देशभक्तहरु एकजुट हाऔँ लगायत नारासहित बजार परिक्रमा गरी सन्धिखर्कको शान्ती बगैंचामा पुगेर कोण सभामा परिणत भएको थियो ।