काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका नेता रावलले राष्ट्रको स्वाधिनता माथिनै गम्भिर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनु भएको हो ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले सो बारे छानवीन गर्न पनि समितिसँग आग्रह गर्नु भयो । उहाँले प्रतिनिधिसभामा विचाराधिन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनु भयो ।
नेता रावलले भन्नु भयो, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता जो अनुमोदनका लागि विचाराधिन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छ ? यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महादेयमार्फत यो प्रेषित हो्स–यसमा छानबिन गरेर कारबाही हुनुपर्छ ।’
नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रर्दशन गरेको पनि बताउनु भयो ।