काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै संघर्षरत २२ राजनीतिक दलले आज (पुस १८ गते) पनि विरोध प्रदर्शन गर्दैछन् । एमसीसीलाई संसदको कार्यसूची बन्न नदिने उद्देश्यका साथ दबाब सिर्जन गर्न कार्यक्रम आयोजना गरिएको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभएको छ ।
आइतबार दिउँसो माइतीघर मण्डलाबाट जुलुश सुरु गरी नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुने छ । विरोध सभालाई २२ वटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट सचिव हिमलाल पुरीले सम्बोधन गर्नुहुने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
नेकपा (मसाल) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले एमसीसी संसदको कार्यसूची बन्नै नदिने रणानीति लिएका छन् । २२ दलले संसद बैठक बस्ने भनिएको दिन आज पनि एमसीसी विरुद्धको प्रदर्शनलाई जारी राख्ने योजना बनाएका हुन् । यद्यपी आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलहरुले एकल वा संयुक्त रुपमा पनि संघर्ष गर्दै आइरहेका छन् ।