जनकपुरधाम । प्रदेश २ को नामकरणसम्बन्धी चार प्रस्ताव पेस भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा चार वटा नामका लागि पाँच प्रस्ताव पेश भएका हुन् ।
बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी’, ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन् । सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् । यो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।
यस्तै, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्न प्रस्ताव पेस गरेको छ भने कांग्रेसले ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ।
एमालेका ७ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन।
सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने प्रस्तावमा सहयोगका लागि दलहरुसँग छलफल गर्न एक समितिसमेत बनाएको छ ।
प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको हो ।