काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् । नेपाल बार एसोसिएसनको अगुवाईमा आज (मंगलबार) पनि वकिलहरुले सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
Advertisement
नेपाल बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफ्नो आन्दोलन जारी राख्ने अडान लिएको छ । हिजो मात्रै प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्च प्रशासनले नाराबाजी बन्द गर्न नेपाल बारलाई निर्देशन दिएको थियो ।
तर, बारले भने सर्वोच्च प्रशासनको आग्रहलाई अस्वीकार गर्दै आन्दोलन जारी राखेको हो ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् । केही समय न्यायाधीशहरुले समेत काम ठप्प पारेर प्रधानन्यायाधीशको राजीनामा मागेकोमा अहिले न्यायाधीशरु काममा फर्किसकेका छन् ।