ईरानराई ##
यद्यपि मेरो पढाइको विषय नेपाली भाषा होइन तर एक नेपाली नागरिकको हैसियतले नेपाली भाषाप्रति मोह हुनु, चासो राख्नु, खोजनीति गर्नु र त्रुटि भेटिएमा सच्याउनु आफ्नो कर्तव्य ठान्दछु ।
नेपाली भाषाको बोलाइ र लेखाइप्रति मेरा केही जिज्ञासाहरू छन् । एकातिर, बोलाइ र लेखाइमा अङ्ग्रेजीले एवम् बोलाइमा हिन्दीले नेपाली भाषालाई निरन्तर हस्तक्षेप गरिरहेका छन् भने अर्कातिर, नेपाली भाषाले नेपालका अन्य मौलिक राष्ट्रिय/राष्ट्र भाषाहरूलाई निस्तेज पारिरहेको छ ।
सरकार, विद्यालय प्रशासन र केही बुद्धिजीवीहरू निजी विद्यालयलाई पछार्न धेरै तर गुणस्तरीय पठनपाठनका लागि थोरै कारणले सामुदायिक विद्यालयमा पनि प्रारम्भिक कक्षाबाटै अङ्ग्रेजी माध्यममा अध्यापन गर्न/गराउन ‘तँ पहिला कि म पहिला’ को अनावश्यक प्रतिस्पर्धामा खरो उत्रन भरमग्दुर प्रयासरत देखिनुभएको छ । ज्ञान, बोध र सिपका लागि भाषा केवल माध्यम हो, अर्थात् साधन मात्र हो, साध्य होइन भन्नेहरू अल्पमतमा परे कि भन्ने डर लाग्छ ।
एक्काइसौँ शताब्दीको यस्तो भाषिक राष्ट्रियता बोकिरहिएको बेला “सामाजिक शिक्षा” लाई जीवनोपयोगी शिक्षाका रूपमा ग्रहण गरी नेपाली भाषामा अध्ययन–अध्यापन गर्नु/गराउनु सुखद कार्य हो तर नेपाली भाषाको लेखाइ अनौपचारिक कार्यमा मात्र होइन, आधिकारिक निकायका दस्तावेजमा र औपचारिक कार्य र कार्यक्रममा समेत अशुद्ध हुनु अहिले सामान्य मान्न थालिएको छ ।
यसो हुनुमा बाह्य भाषा र संस्कार–संस्कृतिको आक्रमण मात्र नेपाली भाषाको वृद्धि र विकासको बाधा हो कि हामी आफैँमा पनि कमी–कमजोरी र गल्ती छन् ? नेपाली भाषा बिग्रनु र बिग्रिएको देखिनुमा को दोषी हुन् : मानक निर्धारक कि प्रयोगकर्ता ? भौगोलिक र सांस्कृतिक विविधताले सामान्य भिन्नतालाई व्यावहारिक समस्या मानिन्छ तर सैद्धान्तिक पक्ष नै अमिल्दो छ वा वास्तवमा सैद्धान्तिक स्वयम्मा जटिल हुन्छ ? भाषा जीवित तथा बनोट र स्रोतका आधारमा पृथक भए तापनि एकरूपतामा कसरी ढाल्न सकिन्छ ? जो जसले भाषालाई शुद्ध लेख्नुपर्ने हो, उसै/त्यसैले बारम्बार गलत लेख्यो भने के गर्ने ? वर्णविन्यासलाई परिवर्तन गरिरहँदा (जस्तै : संघ/सङ्घ, लागू/लागु ?) आउने सकारात्मक र नकारात्मक परिणाम के कस्ता हुन्छन् ? यस्ता संशोधनको आवश्यकता र महत्ता के हुन् ? यी तमाम विषयमा विद्वतवर्गले बृहत् छलफलपश्चात् सामूहिक निष्कर्ष निकाल्नुपर्दछ ।
अन्य पाठ्यपुस्तक, गैरपाठ्यपुस्तक र स्वयम् नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित “नेपाली बृहत् शब्दकोश” (२०७७) को संशोधित संस्करणमा समेत पाइन्छ; जस्तै– “दसौँ संस्करण – संशोधन समितिको भनाइ” को २. पदयोग र पदवियोग उपशीर्षकको (घ) मा ‘छुट्ट्याएर’ हुनुपर्नेमा “छुट्याएर” मात्र छ ।
यो लेखमा मैले विषयलाई खुम्च्याएर पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरले मुद्रण गरेको कक्षा ११ को “सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा” (२०७७) मा देखिएका/भेटिएका केही कमजोरीलाई उजागर गर्ने प्रयत्न गर्ने छु ।
यो पाठ्यपुस्तकमा भएको सबैभन्दा गम्भीर त्रुटि भनेको “ब” लाई लोपोन्मुख बनाउनु हो । उदाहरणका लागि विषयसूची, शीर्षक/उपशीर्षक र प्रश्नहरूमा “बस्ती” लेखिँदा “ब” हुनु तर पाठको विस्तृत रूपमा “ब” नलेखिएर “व” लेखिएको पाइन्छ (पृष्ठ १२७ लगायत) । “ब” लेखिनुपर्ने धेरै स्थानहरूमा “व” मुद्रित भएको पाइन्छ तर “विश्वमा नेपाल” शीर्षकअन्तर्गतको पृष्ठ सङ्ख्या ७६ मा “पूर्वी” (नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित “नेपाली बृहत् शब्दकोश” २०७७ अनुसार) हुनुपर्नेमा “पुर्बी” लेखिएको पाइन्छ । पृष्ठ ६३ मा पाठ ३ को शीर्षक “कृषि युगको सुरुआत र विकास” हुनुपर्नेमा “सुरूआत”’ लेखिएको छ । यो कमजोरी भाषा सम्पादकले नजानेर, नदेखेर भन्दा पनि टङ्कणकर्ताले “फन्ट” परिवर्तन गरेर बढी आकर्षक र प्रस्ट पार्ने प्रयत्नको दुष्परिणाम हुन सक्तछ ।
मूल शब्दमा विभक्ति जोडिनुपर्नेमा पृष्ठ ५८ मा “सिकारका लागि” हुनुपर्नेमा “सिकार का लागि” लेखिएको छ । सोही पृष्ठमा “रहेकाले” हुनुपर्नेमा “रहे काले” भेटिन्छ । पृष्ठ ३१ मा “कारणसहित” र “कारण सहित” गरी एउटै कुरालाई भिन्नाभिन्नै रूपमा लेखिएको छ । कति शब्दमा मात्रा छुटाइएका छन्; जस्तै– “धूम्रपान” लाई “धूमपान” (पृष्ठ ४४) मात्र लेखिएको छ ।
आगन्तुक सङ्क्षेपीकरण; जस्तै– की.मी. हुनुपर्नेमा कि.मि. नै छ (पृष्ठ ७५) ।
वर्णविन्यासको समस्यादेखि बाहेक पनि केही कमजोरी छन्† जस्तै– आवरणमा अनावश्यक रूपमा अङ्ग्रेजीमा Curriculum Development Centre लेखिएको छ । त्यसरी गाताको अन्तिम पृष्ठमा नेपालको नक्सा छापिएको छ तर कुनै अक्षर बुझिँदैनन् । त्यो नक्सालाई त्यहीँ नै बुझिने गरी छाप्न सकिने प्रशस्त सम्भावना देखिन्छन् । त्यसरी नै मूल्य नतोकिनु अर्को समस्या हो । मूल्य नतोकिँदा अभिभावक/विद्यार्थीको हातमा सही दाममै पुग्छ भन्ने विश्वासिलो आधार भेटिँदैन । कतिपय ठाउँमा शब्दका बिचमा खाली ठाउँ (Space) छैन (पृष्ठ ८९) भने कतिपय स्थानमा लामो खाली ठाउँ (Double Space) छाडिएका छन् ।
समग्रमा विद्यालय शिक्षाका लागि पाठ्यपुस्तकको आधिकारिक प्रकाशक पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले आफ्ना प्रकाशनमा धेरै कमजोरी र त्रुटि गरिरहेको पाइएको छ, जसलाई गम्भीर रूपमा लिई अविलम्ब परिष्कृत बनाउनुको विकल्प छैन ।
iranrai77@gmail.com