काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आन्दोलनरत विभिन्न ८ दलले आन्दोलन चर्काउने भएका छन् ।
मंगलबार संसद भवन घेराउका क्रममा प्रहरीले दमन गरेपछि नेकपा (मसाल) सहित आठ दलले थप कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कैयौं कार्यकर्ता घाइते भएका थिए । आन्दोलनबाट ७३ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । नेकपा (मसाल) सहितका ८ राजनीतिक दलले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी देउवा सरकारलाई एमसीसी खारेज गर्न चेतावनी दिएका छन् ।
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरिएको हो ।
हजारौंको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसीसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरका थिए ।

यो पनि….एमसीसीविरुद्ध संसद भवन घेराउका क्रममा झडप, केही कार्यकर्ता घाइते