• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपरस्त तत्वहरूको गन्तव्य के हो ?


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • फुटपरस्त तत्वहरूले करिब अढाइ वर्षदेखि संगठित रूपले गुटबन्दी गर्ने तथा पार्टीभित्र अराजकताको स्थिति सिर्जना गर्ने प्रयत्न गरेका थिए । तर अब उनीहरूको फुटपरस्त कार्यविधि प्रकट रूपमा नै बाहिर आएको छ । उनीहरूले एउटा भेला गरेर ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल) समन्वय समिति’को गठन गरेका छन् । त्यसरी अहिलेसम्म छद्म रूपले उनीहरूले चलाइरहेको फुटपरस्त अभियान प्रकट रूपमा नै बाहिर आएको छ । उनीहरूले महाधिवेशनका बेलादेखि नै पार्टीलाई फुटाउने योजनाअन्तर्गत काम गरिरहेका थिए । उनीहरूको पहिलो प्रयत्न पार्टीभित्र संगठित रूपले गुटवन्दी गरेर पार्टीमाथि भित्रैबाट कब्जा गर्ने थियो । तर पार्टीभित्रको उच्च सर्तकता, चेतना र अनुशासनका कारणले उनीहरूको त्यो षडयन्त्र सफल हुन सकेन । त्यसैले उनीहरूले खुला रूपले फुटको बाटो समात्न बाध्य हुनु पर्यो ।

    Advertisement

    जेहोस्, उनीहरूको खुला रूपमा आएको फुटपरस्त कार्यबाट नकारात्मक रूपले पार्टीलाई मदत नै पुगेको छ । उनीहरूले पार्टीभित्र बसेर नै छद्म प्रकारले फुटपरस्त गतिविधि सञ्चालन गर्दा उनीहरूलाई ठीकसँग चिन्न र उनीहरूका विरूद्ध संघर्ष गर्न हामीलाई केही समस्या भएको थियो । तर अब उनीहरू खुला रूपमा बाहिर आएको हुनाले हामी र उनीहरूका बीचमा एउटा रेखा कोरिएको छ र उनीहरूका विरूद्धको संघर्ष हाम्रा लागि अपेक्षाकृत सजिलो हुनेछ र उनीहरूको हाम्रा विरूद्ध भ्रम पार्ने क्षमता कम हुनेछ । तर हामीलाई अझै पनि के लाग्छ भने हाम्रा र उनीहरूका बीचको स्पष्ट रेखांकन हुन अरू केही समय लाग्नेछ । उनीहरूले बेग्लै ‘समन्वय समिति’को गठन गरे पनि उनीहरूले अझै पनि हाम्रो पार्टीभित्र केही घुसपैठियाहरूलाई राखिराख्ने प्रयत्न गर्ने छन् । तर क्रमशः त्यो कुरा स्पष्ट हुँदै जानेछ भन्ने हाम्रो सोचाइ छ ।

    उनीहरूको खुला रूपमा आएको फुटपरस्त कार्यबाट नकारात्मक रूपले पार्टीलाई मदत नै पुगेको छ । उनीहरूले पार्टीभित्र बसेर नै छद्म प्रकारले फुटपरस्त गतिविधि सञ्चालन गर्दा उनीहरूलाई ठीकसँग चिन्न र उनीहरूका विरूद्ध संघर्ष गर्न हामीलाई केही समस्या भएको थियो ।

    तर यस सन्दर्भमा हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि महाधिवेशनका समयमा भिन्न मत राख्ने अल्पमत पक्षका सबै कामरेडहरूलाई हामीले फुटपरस्त ठान्दैनौँ । पार्टीका कुनै पनि कामरेडले भिन्नमत अन्तर संघर्षको सञ्चालन पार्टीको विधान र नियमअनुसार नै गर्नुपर्दछ । महाधिवेशनको समयमा भिन्न मत राख्ने धेरै साथीहरूले भिन्न मत भएपनि अनुशासनमा बसेर काम गरिरहनु भएको छ । उहाँहरूले अनुशासनलाई दृढतापूर्वक पालन गरेर पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिरहनु भएको छ । तर केही साथीहरूले अनुशासनविहीन र अराजकतावादी प्रकारले काम गरेको हुनाले नै हामीले उनीहरूमाथि कारबाही गर्नु परेको थियो । तर अहिले उनीहरूले भिन्नमत राखेको हुनाले नै उनीहरूमाथि कारबाही गरेको भनेर हल्ला मच्चाइरहेका छन्, जो पूरै नै असत्य र निराधार छ ।

    फुटपरस्त तत्वहरुले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको वक्तव्यमा पनि पार्टीभित्र उनीहरूले संगठित प्रकारले गुटबन्दी गरेको कुरालाई स्वीकार गरेका छन् । त्यस सिलसिलामा त्यो वक्तव्यमा उनीहरूले ‘पाटीभित्र केन्द्रीय सम्पर्क केन्द्रको गठन’ गरेको कुरा स्वीकार गरेका छन् । त्यो वास्तवमा गुटवन्दी नै थियो । उनीहरूले त्यसरी व्यापक रूपमा गोप्य सञ्जाल बनाएर काम गरेका थिए । अर्काे शब्दमा उनीहरूले पार्टीभित्र ‘पार्टी’ बनाएर काम गरेका थिए । त्यो केन्द्रद्वारा उनीहरूले गोप्य ‘दस्तावेज’ पनि बनाएर पार्टीभित्र वितरण पनि गरेका थिए । त्यो ‘दस्तावेज’ मा आठौँ महाधिवेशनका निर्णयहरू तथा पार्टीका नीतिहरूको विरोध गर्ने कार्यक्रमको पनि उल्लेख गरिएको थियो ।

    त्यो कुरा थाहा हुँदाहुँदै पनि हामीले शंकाका आधारमा कसैमाथि कारबाही गरेका थिएनौँ र स्वयम् व्यवहारद्वारा उनीहरूको अनुशासनविहीनता प्रकट हुँदै गएपछि नै उनीहरूमाथि कारबाही गर्ने गरेका थियौँ । तैपनि उनीहरूमध्ये धेरै जसोलाई एकैपल्ट पार्टीबाट निष्काशित गर्ने काम नगरेर प्रारम्भमा अनुशासन सम्बन्धी आन्तरिक कारबाही गरेर उनीहरुलाई सुधार्ने नै हाम्रो प्रयत्न भएको थियो । बारम्बारको चेतावनी र आन्तरिक कारबाहीपछि पनि उनीहरूको व्यवहारमा सुधार नभएकाहरुलाई मात्र उनीहरूका विरुद्ध कारबाही गर्नु परेको थियो । ‘पार्टी भित्र पार्टी’ वा, उनीहरूले भनेजस्तो ‘पार्टी भित्र सम्पर्क केन्द्रको गठन’ गरिसकेको अवस्थामा पनि उनीहरूले फरक मत राखेको कारणले नै उनीहरूमाथि कारबाही गरिएको भन्ने आरोप कति निराधार छ ? प्रष्ट छ ।

    महाधिवेशनको समयमा भिन्न मत राख्ने धेरै साथीहरूले भिन्न मत भएपनि अनुशासनमा बसेर काम गरिरहनु भएको छ । उहाँहरूले अनुशासनलाई दृढतापूर्वक पालन गरेर पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिरहनु भएको छ ।

    अब उनीहरू खुला रूपले बाहिर आएको हुनाले नकारात्मक रूपले एउटा अर्काे दृष्टिकोणले पनि राम्रो भएको छ । अहिलेसम्म उनीहरूले खाली एकतर्फी रूपले हामीलाई गाली दिएर नै पार्टीभित्र वा बाहिर भ्रम दिने काम गरेका थिए । अब उनीहरू खुला रूपले बाहिर आइसकेपछि खाली गालीगलौज र झुट्टा आरोपहरूका आधारमा नै उनीहरूको व्यापार धेरै दिनसम्म चल्ने छैन । अब उनीहरूले ठोस काम गरेर देखाउनु पर्नेछ । हामीलाई दक्षिणपन्थी भनेपछि उनीहरूको क्रान्तिकारी नीति के हो ? त्यो स्पष्ट गर्ने जिम्मेवारी उनीहरूमाथि थपिएको छ । उनीहरूको व्यवहारका आधारमा नै उनीहरूले हामीमाथि लगाउने गरेका आरोप कति सत्य हुन् वा झुट्टा ? उनीहरू वास्तवमा कति क्रान्तिकारी हुन् वा अवसरवादी ? त्यो कुरा प्रष्ट हुँदै जाने छ ।

    गतकालमा हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका कैयौँ साथीहरूमध्ये कतिपय पार्टी वा आन्दोलनका कामहरूमा इमान्दारिपूर्वक लाग्ने गरेका छन् । उनीहरू मध्ये कतिपय साथीहरू पुनः हाम्रो पार्टीमा फर्केर आउने पनि गरेका छन् भने कतिपय हाम्रो पार्टीमा नआएपनि आन्दोलनका सिलसिलामा उनीहरूसित मैत्रीपूर्ण सम्बन्ध कायम हुने वा विभिन्न स्तरमा कार्यगत एकता वा सहकार्य हुने गरेका थुप्र्रै उदाहरणहरू छन् । अहिले हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका साथीहरूले पनि आउने दिनहरूमा त्यस प्रकारको इमान्दारिता देखाएमा उनीहरूमध्ये कतिपय हाम्रो पार्टीमा आउने वा एक वा अर्काे प्रकारले उनीहरूसित मैत्रीपूर्ण सम्बन्ध कायम हुने सम्भावनालाई पनि हामीले अस्वीकार गर्दैनौँ । तर त्यसका लागि उनीहरूले कमसेकम कम्युनिस्ट आन्दोलन वा वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा इमान्दारिताको प्रदर्शन गर्नु आवश्यक हुनेछ । उनीहरूको व्यवहार कुन दिशामा अगाडि बढ्दै जान्छ त्यो कुराले नै उनीहरूसितको हाम्रो भावी सम्बन्धको प्रकृतिलाई ठेगान गर्नेछ । हामीले आशा र कामना गर्दछौँ, अहिले हाम्रो पार्टीबाट निष्काशित फुटपरस्त साथीहरूको सकारात्मक दिशामा नै विकास हुँदै जाओस् । त्यो नै कम्युनिस्ट वा वामपन्थी आन्दोलनको हितमा हुनेछ ।

    अहिले हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका साथीहरूले पनि आउने दिनहरूमा त्यस प्रकारको इमान्दारिता देखाएमा उनीहरूमध्ये कतिपय हाम्रो पार्टीमा आउने वा एक वा अर्काे प्रकारले उनीहरूसित मैत्रीपूर्ण सम्बन्ध कायम हुने सम्भावनालाई पनि हामीले अस्वीकार गर्दैनौँ ।

    पत्रकार सम्मेलनमा प्रस्तुत गरेको वक्तव्यमा उनीहरूले दुईवटा कुराहरू स्पष्ट शब्दमा स्वीकार गरेका छन् । प्रथम : ‘विश्व परिस्थिति कम्युनिस्ट आन्दोलनका लागि रक्षात्मक अवस्थामा रहेको र नेपालको कम्युनिस्ट आन्दोलनको पनि आत्मगत अवस्था कमजोर रहेको हुँदा जनसंघर्ष नै तात्कालिक संघर्षको स्वरूप हुनेछ ।’ द्वितीय : ‘आगामी निर्वाचनमा के नीति अपनाउने भन्ने विषयमा देशको समग्र राजनैतिक परिस्थिति, आन्दोलनको अवस्था, हाम्रो आत्मगत अवस्था तथा सामाजिक चेतनाको अवस्थालाई आधार बनाएर हेर्दा हामीले निर्वाचनलाई कार्यनीतिक उपयोग गर्नुपर्छ भन्ने भेलाले ठहर गरेको छ ।’

    त्यसरी, एकातिर, उनीहरूले आठौँ महाधिवेशनका निर्णयहरूलाई ‘दक्षिणपन्थी’ बताएका छन् भने, अर्कातिर, ती दुवै विषयहरूमा उनीहरूले आठौँ महाधिवेशनका नीतिहरूलाई नै अनुशरण गरेका छन् । यी दुईवटा उदाहरणहरूबाट मात्र पनि आठौँ महाधिशेनका निर्णयहरू परिस्थितिको सही विश्लेषणमाथि नै आधारित थिए र आठौँ महाधिवेशनका निर्णयहरूलाई दक्षिणपन्थी बताउने उनीहरूको अभिव्यक्ति अराजनैतिक र आधारहीन थियो भन्ने कुरा प्रष्ट हुन्छ । त्यो कुरा यसबाट पनि प्रष्ट हुन्छ कि उनीहरूले आठौँ महाधिवेशनको अहिलेको परिस्थितिमा शान्तिपूर्ण आन्दोलनलाई नै प्रधान ठान्ने नीतिको सट्टा सशस्त्र संघर्ष र चुनावको उपयोगको नीतिका विरूद्ध वहिष्कारको नीतिमा जोड दिन सकेका छैनन् । उनीहरूले आठौँ महाधिवेशनको चुनावको उपयोगको नीति ‘रणनैतिक’ भएको भनेर आलोचना गरेका छन् । तर आठौँ महाधिवशेनले त्यो नीतिलाई कार्यनैतिक नै बताएको छ ।

    चुनावको उपयोगको नीति कुन अवस्थामा ‘रणनैतिक’ हुन्छ र कुन अवस्थामा कार्यनैतिक ? त्यो कुरालाई महिना वा वर्षहरूको गणना गरेर होइन, परिस्थितिको मूल्यांकन गरेर निर्णय गर्नुपर्छ । पञ्चायती तानाशाही कालमा हाम्रो पार्टीले ३० वर्षसम्म र त्यसपछि पनि २ वर्षसम्म चुनावको बहिष्कारको नीति अपनाएको थियो । तर त्यो कारणले के हाम्रो चुनावको वहिष्कारको नीति रणनीतिक बन्न गएको थियो ? यदि महिना वा वर्षको हिसाब गरेर चुनावको उपयोगको नीतिलाई रणनीतिक वा कार्यनीतिक बताउने हो भने उनीहरूले यो कुरा भन्न सक्नुपर्छ : कति वर्षसम्मको उपयोगको नीति कार्यनीति हुन्छ र कति म्याद काटेपछि रणनीतिक हुन्छ ?

    त्यसरी, एकातिर, उनीहरूले आठौँ महाधिवेशनका निर्णयहरूलाई ‘दक्षिणपन्थी’ बताएका छन् भने, अर्कातिर, ती दुवै विषयहरूमा उनीहरूले आठौँ महाधिवेशनका नीतिहरूलाई नै अनुशरण गरेका छन् ।

    वास्तवमा त्यो कुरा परिस्थितिको विश्लेषणको आधारमा टुंगिने कुरा हो । विश्व कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारको कुनै नियम छैन, जहाँ महिना वा वर्षको गणना गरेर चुनावको उपयोग वा बहिष्कारको नीति निर्धारित गरिएको होस् । मूल रूपमा परिस्थितिको मूल्यांकन गरेर नै चुनावको उपयोग वा बहिष्कार गर्नु पर्दछ । हाम्रो पार्टीले त्यस प्रकारको नीति अनुसार नै चुनावको बहिष्कार वा उपयोग गर्ने नीति अपनाउने गरेको छ । यसरी के कुरा प्रष्ट हुन्छ भने फुटपरस्त तत्वहरूले सशस्त्र संघर्ष र चुनावसम्बन्धी आठौँ महाधिवशेनका नीतिहरूलाई जस्ताको तस्तै अपनाएका छन् । तैपनि उनीहरूले आठौँ महाधिवेशनका निर्णयहरूलाई दक्षिणपन्थी बताउनु हास्यास्पद र पूर्वाग्रहयुक्त सोचाइ नै हो ।

    हामीले पार्टीबाट निस्काशित वा फुटेर गएका साथीहरूसित वार्ता वा भेटघाट गरेर उनीहरूलाई पुनः पार्टीमा ल्याउन प्रयत्न गरेका थियौँ । तर हाम्रो त्यो वार्ताको प्रस्तावलाई उनीहरूले, जस्तो कि उनीहरूको वक्तव्यमा भनिएको छ, यो आलोचना गरेर अस्वीकार गरे : वार्ताको लागि आह्वान गरेपनि विभिन्न शर्तहरू तेर्साएर नेतृत्वले हामीलाई वार्तामा ल्याउन चाहेन । हामीले वार्ताको लागि पहल गर्यौँ । पार्टीले हठ छाडेन र परिषदको बैठकबाटै ‘वार्ता र भेटघाट फिर्ता लिने निर्णय’ गर्न पुग्यो । उनीहरूले ‘सर्त’ र ‘हठ’ को जुन कुरा उठाएका छन्, ती कुराहरू कति आधारहीन छन् त्यो कुरा बुझ्न गाह्रो पर्दैन ।

    उनीहरूले जसलाई सर्त बताएका छन्, त्यसको अर्थ खाली यति मात्र हो : पार्टीमा प्रवेश गरेपछि जनवादी केन्द्रीयता अनुसार अनुशासन, आठौँ महाधिवेशन र बहुमतका निर्णयहरूलाई मान्नु पर्दछ, अनुशासनमा बस्नु पर्दछ, मतभेदहरूलाई अनुशासनविहीन तरिकाले पार्टीभित्र असम्बन्धित समिति र सदस्यहरू वा सार्वजनीक रुपमा लैजान हुन्न, खुला र समानान्तर गतिविधिहरू, जस्तै कि ‘पार्टीभित्र सम्पर्क केन्द्र’ आदि गर्न पाइँदैन । यी ता कुनै पनि पार्टी सदस्यले पार्टीमा पालन गर्नुपर्ने न्यूनतम नियमहरू हुन् । हामीले ती नियमहरूमा जोड दिनुलाई नै सर्त बताएर उनीहरूले तिनीहरूलाई मानेर पार्टीमा प्रवेश गर्ने कुरालाई अस्वीकार गरे । त्यसको अर्थ हो, उनीहरूले चाहन्छन्, उनीहरूलाई पार्टीभित्र ती सबै नियमहरूको उल्लंघन गर्ने स्वतन्त्रता हुनुपर्दछ । स्पष्ट छ, जनवादी केन्द्रियता र पार्टीको विधान अनुसार कुनै पनि कम्युनिस्ट पार्टीमा त्यस प्रकारको अराजकता वा अनुशासनविहीनतालाई छुट दिइँदैन ।

    उनीहरूले चाहन्छन्, उनीहरूलाई पार्टीभित्र ती सबै नियमहरूको उल्लंघन गर्ने स्वतन्त्रता हुनुपर्दछ । स्पष्ट छ, जनवादी केन्द्रियता र पार्टीको विधान अनुसार कुनै पनि कम्युनिस्ट पार्टीमा त्यस प्रकारको अराजकता वा अनुशासनविहीनतालाई छुट दिइँदैन ।

    उनीहरूले विशेष महाधिवेशनको कुरा पनि उठाएका छन् । पार्टीको विधानमा विशेष महाधिवेशनको व्यवस्था छ र त्यसको आफ्नै प्रक्रिया हुन्छ । तर उनीहरूले पार्टीको विधान अनुसार होइन, उनीहरूले पेस गरेका सर्त अनुसार, अर्थात केन्द्रीय समितिको विघटन गरेर बेग्लै कार्यदल बनाएर त्यो विशेष महाधिवेशन गर्ने कुरा उठाएका छन् । अहिले उनीहरूले आफ्नोे वक्तव्यमा १ वर्षसम्म त्यसका लागि पर्खने कुरा बताएका छन् । तर हामीले एक वर्ष होइन, १० वर्ष प्रतिक्षा गरेपनि पार्टीको विधान विपरित गएर विशेष महाधिवेशनको प्रस्तावलाई स्वीकार गर्न सक्दैनौँ । त्यसैले उनीहरूसितको वार्ताबाट कुनै सार्थक परिणाम ननिस्कने देखेर वार्ता सम्बन्धी त्यो निर्णयलाई फिर्ता लिएका थियौँ ।
    उनीहरूले आठौँ महाधिवेशनमा गरिएका निर्णयहरूमा फेरबदल गरेको कुरा पनि निकै उठाएका छन् ।

    कुनै पनि महाधिवेशन, सम्मेलन वा भेलापछि त्यहाँ भएका छलफल, त्यहाँ आएका सुझाव, त्यहाँ दिइएका स्पष्टीकरण आदि समेतलाई मिलाएर तथा भाषा सम्बन्धी शुद्धाशुद्धी सच्याएर दस्तावेजलाई अन्तिम रूप दिँदा कैयौँ सुधारहरू गरिन्छन् । महाधिवशेनको मूल ट्रेन्डको सीमाभित्र रहेर नै त्यसो गर्ने गरिन्छ । त्यो कार्यलाई दस्तावेजमा तोडमोड गरेको भन्न मिल्दैन र त्यसरी कुनै दस्तावेजमा त्यस प्रकारको तोडमोड गरिएको पनि छैन । यो उल्लेखनीय छ कि महाधिवेशनका दस्तावेजहरुलाई अन्तिम रूप दिनका लागि महाधिवेशनमा बहुमत र अल्पमतमा भएका साथीहरूको संयुक्त कार्यदल बनाइएको थियो र उनीहरूले एक मतले तयार पारेका दस्तावेजहरूलाई नै प्रस्तुत गरिएको थियो ।

    हाम्रो पार्टीको गत कात्तिकमा भएको राष्ट्रिय परिषदको दोस्रो वैठकले फुटपरस्त तत्वहरूले प्रतिगमन–उन्मुख दिशा समात्न थालेको कुरा उल्लेख गरेको छ । अहिलेको उनीहरूको वक्तव्यले पनि हाम्रो त्यो विश्लेषणलाई सही सावित गरेको छ । उनीहरूले अहिले मुख्य रूपले बहुदलीय व्यवस्था र गणतन्त्रमाथि हमला गर्ने नीति अपनाएका छन् । अहिले देशमा राजावादीहरूले बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपालमा राजतन्त्र र हिन्दू राष्ट्रको पुनस्र्थापनाको लागि अभियान चलाइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पनि उनीहरूको मुख्य जोड ती कुरामा नै छ । फुटपरस्त तत्वहरूले धर्मनिरपेक्षताको विरोध गरेका छैनन् । तर गणतन्त्र र बहुदलीय व्यवस्थामाथि उनीहरूले पूरै आक्रमण गरिरहेका छन् । त्यसरी उनीहरूको कार्यदिशा राजावादीहरूसित मिल्न जान्छ र, त्यसरी उनीहरूले प्रतिगमनउन्मुख दिशा लिएको कुरा प्रष्ट छ, यद्यपि उनीहरू प्रतिक्रियावादी नै भइसकेका छन् भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ ।

    हाम्रो पार्टीको गत कात्तिकमा भएको राष्ट्रिय परिषदको दोस्रो वैठकले फुटपरस्त तत्वहरूले प्रतिगमन–उन्मुख दिशा समात्न थालेको कुरा उल्लेख गरेको छ । अहिलेको उनीहरूको वक्तव्यले पनि हाम्रो त्यो विश्लेषणलाई सही सावित गरेको छ ।

    उनीहरूको वक्तव्यमा लेखिएको छ : ‘प्रस्तावमा समन्वय समितिले पहिले लोकतान्त्रिक गणतन्त्रको स्थापनाको साथसाथै दलाल तथा नोकरशाही पूँजीपतिवर्ग सत्तामा हावी भएको निष्कर्ष निकालेको छ । गणतन्त्र स्थापना भएको करिब १५ वर्षको अवधिमा यो संसदीय लोकतन्त्र बदनाम र असफल सावित भइसकेको हुँदा त्यसको विकल्पमा कुरा उठिरहेका छन् । त्यस सन्दर्भमा हाम्रो विचार यो छ कि यो व्यवस्था भन्दा माथिल्लो स्तरको नयाँ जनवादी व्यवस्था नै संसदीय व्यवस्थाको विकल्प हो ।’

    माथिको भनाइबाट ‘क्रान्तिकारी’ लफ्फाजीभित्र उनीहरूले प्रतिगमनको सेवा गर्न थालेको कुरामा कुनै शंका रहन्न । उनीहरूले संसदीय व्यवस्था र गणतन्त्रको विकल्प नयाँ जनवादी व्यवस्था भएको कुरा बताएका छन् । त्यो रणनीति हो । तर त्यो भनाइको आडमा गणतन्त्र र बहुदलीय व्यवस्थालाई समाप्त गर्ने कुरा स्पष्ट रूपमा अगाडि आएको छ । वास्तवमा भन्ने हो भने त्यो नै उनीहरूको तात्कालिक कार्यदिशा हो । त्यो कार्यदिशाले राजावादीहरूको कार्यदिशासित मेल खान्छ र त्यसरी उनीहरूको नीति प्रतिगमनउन्मुख भएको कुरामा पनि कुनै शंका रहन्न । अहिले राजावादीहरूले गणतन्त्र, बहुदलीय व्यवस्था र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाइरहेका बेलामा त्यही प्रकारको नारामा जोड दिनुको अर्थ उनीहरूको नीतिले प्रतिगनको नै सेवा गरेको कुरामा कुनै शंका रहन्न ।

    अन्तमा, हामीले विद्यमान गणतन्त्र र बहुदलीय व्यवस्थालाई समाप्त गर्नै पर्दछ । तर अहिले राजावादीहरू मात्र होइन, ओली र भारतीय साम्राज्यवादले समेत देशमा राजतन्त्र र हिन्दू राष्ट्रको पुनस्र्थापनाको लागि प्रयत्न गरिरहेको बेलामा हाम्रो कार्यदिशा गणतन्त्र र बहुदलीय व्यवस्थाको रक्षा गर्ने नै हुनुपर्दछ । त्यसको विपरित फुटपरस्त तत्वहरूले घोषित रूपले नै देशलाई प्रतिगमनको दिशामा लैजाने नीति अपनाएको कुरा उनीहरूको स्वीकारोक्तिबाट नै छर्लङ्ग हुन्छ । उनीहरूले यो कुरा स्वीकार गरेका छन् : अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी सम्झौतालाई संसदबाट पारित गरेर लागू गराउन चाहेको छ । गठवन्धनका घटकले संशोधन गरी पारित गर्ने सहमतिपछि त्यो राकिएको छ । तर कुनै पनि बेला ठूला दलहरूको सहमतिमा नै त्यो पारित हुने अवस्था छ ।

    यहाँ उनीहरूले एमसीसीलाई रोक्न गठवन्धनका घटकहरूको सकारात्मक भूमिका भएको कुरालाई स्वीकार गरेका छन् । पाँच दलीय गठवन्धनमा भएको राष्ट्रिय जनमोर्चाले एमसीसीलाई पूरै खारेज गर्ने कुरामा जोड दिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यसलाई यथावत रूपमा स्वीकार नगर्ने अडान लिएका छन् । त्यसैले न्यूनतम कार्यक्रममा त्यसलाई सामेल गरिएको थिएन र राष्ट्रिय सहमतिपछि नै त्यसलाई स्वीकार गर्ने कुरा स्पष्ट गरिएको छ ।

    अहिलेसम्मको स्थिति हेर्दा राजमोले ता त्यसलाई स्वीकार गर्ने कुरै भएन तर माओवादी र एकीकृत समाजवादीले पनि अहिलेसम्म त्यसलाई यथावत रूपमा स्वीकार नगर्ने कुरा नै बताउँदै आएका छन् । त्यही कारणले नै अहिलेसम्म एमसीसी पारित हुन सकेको छैन । तर अमेरिकाले त्यसलाई पारित गराउन पूरै दबाब दिइरहेको र त्यसका लागि मंसिर २८ सम्मको अल्टिमेटम पनि दिएको छ । त्यही दिन संसदको अधिवेशन पनि बोलाइएको छ र यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न, त्यो बेला एमसीसीलाई संसदमा प्रस्तुत गर्ने प्रयत्न गरियोस् । त्यो अवस्थामा त्यसका विरूद्ध देशव्यापी रूपमा संघर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिँदै आएको छ ।

    हामी एमसीसीका विरूद्ध विभिन्न वामपन्थी र प्रजातान्त्रिक पक्षहरूसित मिलेर संघर्ष गर्ने पक्षमा छौँ र हामीले त्यसो गर्दै पनि आएका छौँ । तर त्यसो गर्दा एकातिर राजावादी र अर्कातिर ओली पक्षसित कुनै कार्यगत एकता वा तालमेल नगर्ने हाम्रो स्पष्ट र दृढ नीति रहेको छ । हाम्रो त्यही प्रकारको नीतिले गर्दाखेरि राजावादीहरूलाई समेत मिलाएको हुनाले कतिपयपल्ट हामी एमसीसीका विरूद्धको संघर्षको सिलसिलामा २२ दलीय गठबन्धनसित पनि अलग हुनुपरेको थियो । पुनः त्यस्तो अवस्था दोहोरिएमा हामीले एक्लै वा समान समझदारी हुने अन्य पक्षहरूसित मिलेर पनि संघर्षलाई अगाडि बढाउने हाम्रो नीति हुनेछ ।

    उनीहरूले ‘पार्टी नेतृत्वमा सामन्ती, प्राधिकारवादी, अधिनायकवादी, स्वेच्छाचारी र नोकरशाही प्रवृत्ति’ देखा परेको बताएका छन् । हाम्रो पार्टीबाट निष्कासित वा फुटेर जाने साथीहरूले यसभन्दा पहिले पनि यस प्रकारका थुप्रै आरोपहरू लगाउने गरेका थिए । जसले अराजकतावादी अनुशासनविहीन दृष्टिकोणहरू अपनाउँछन्, उनीहरूले हामीमाथि त्यस प्रकारका आरोपहरू लगाउनु कुनै नयाँ कुरा होइन । फुटपरस्त तत्वहरूले आठौँ महाधिवेशनको बेलामा पनि पार्टीमाथि कब्जा जमाउने प्रयत्न गरेका थिए र त्यसपछि पनि अढाइ वर्षसम्म छद्म वा प्रकट प्रकारले त्यस प्रकारका प्रयत्नहरू गर्दै आएका थिए । तर उनीहरू त्यो प्रयत्नमा असफल भएपछि उनीहरूमा देखा परेका कुण्ठाहरूका कारणले नै उनीहरूले हामीमाथि त्यस प्रकारका आरोपहरू लगाउने गरेका छन् ।

    वास्तवमा अहिलेको फुटबाट पार्टीमा संकट आएको होइन कि पार्टी झन अनुशासित, एकतावद्ध र सुदृढ भएको छ । उनीहरूले पार्टीका कतिपय अनुशासनविहीन, अराजकतावादी र गलत तत्वहरूलाई आफ्नो साथमा बढारेर लगेका छन् ।

    उनीहरूले यो पनि लेखेका छन् : ‘फरक विचार आउना साथ दुश्मन नै ठान्ने दृष्टिकोणले गर्दा आज हाम्रो पार्टीमा संगठनात्मक संकट देखा परेको छ । देश विदेश सबैतिर गरेर हामी हजारौँको संख्यामा पार्टी र जनवर्गीय संगठनका सदस्यहरू निष्काशित भएका छौँ ।’ वास्तवमा पार्टीमा प्रत्येक पल्ट केही साथीहरूलाई निष्कासित गर्दा वा फुटेर जाँदा पार्टीका हजारौँ हजारौँ कार्यकर्ताहरू उनीहरूसित गएको बताउने गरेका छन् । त्यही प्रकारले अहिले हजारौँको संख्यामा पार्टी वा जनवर्गीय संगठनका सदस्यहरू निष्कासित भएको भन्ने आरोप पनि पूरै निराधार र अतिशयोक्तिपूर्ण छ । त्यही प्रकारले त्यो कारणले पार्टीमा ‘संगठनात्मक संकट’ देखा परेको भन्ने भनाइ पनि अतिशयोक्तिपूर्ण छ । त्यस प्रकारको झुट्टा प्रचारद्वारा केही दिनको लागि भ्रम पार्न सकिन्छ तर व्यवहारले गतकालका झुट्टा प्रचार जस्तै अहिलेको अतिशयोक्तिपूर्ण र झुट्टा प्रचार पनि छिट्टै उदाङ्गो हुने कुरा प्रष्ट छ ।

    वास्तवमा अहिलेको फुटबाट पार्टीमा संकट आएको होइन कि पार्टी झन अनुशासित, एकतावद्ध र सुदृढ भएको छ । उनीहरूले पार्टीका कतिपय अनुशासनविहीन, अराजकतावादी र गलत तत्वहरूलाई आफ्नो साथमा बढारेर लगेका छन् । त्यसले गर्दा पार्टीमा नकारात्मक रूपले एक प्रकारको शुद्धीकरण भएको छ र त्यसबाट पार्टी अरु शक्तिशाली हुने कुरा प्रष्ट छ । निश्चय नै, उनीहरूले कतिपय इमान्दार साथीहरूलाई पनि भ्रम दिएर आफ्ना साथमा लैजान सफल भएका छन् । तर ती इमान्दार साथीहरू या त पुनः फर्केर हाम्रो पार्टीमा आउने छन् या पलायन भएर जाने छन् । जुनसुकै प्रकारले भएपनि उनीहरूले आफ्नो साथमा लगेका सबै इमान्दार साथीहरूलाई निराश वा अलपत्र पार्ने छन् ।

    उनीहरूले कतिपय इमान्दार साथीहरूलाई पनि भ्रम दिएर आफ्ना साथमा लैजान सफल भएका छन् । तर ती इमान्दार साथीहरू या त पुनः फर्केर हाम्रो पार्टीमा आउने छन् या पलायन भएर जाने छन् । जुनसुकै प्रकारले भएपनि उनीहरूले आफ्नो साथमा लगेका सबै इमान्दार साथीहरूलाई निराश वा अलपत्र पार्ने छन् ।

    उनीहरूको वक्तव्यमा लेखिएको छ : ‘पार्टी नेतृत्वले माक्र्सवादका आधारभूत नीतिहरूलाई संशोधन गरेको छ । ती नीति के हुन ?’ त्यो कुरा माथि प्रकाश हाल्दै उनीहरूले अगाडि लेखेका छन् : ‘नेपालको प्रधान अन्तर्विरोधको सवालमा आज पनि मसाल नेतृत्वले सामन्तवादसितको नेपाली जनताको अन्तर्विरोध प्रधान ठान्दछ । राजतन्त्रको पुनस्र्थापनको खतरा देखाएर संसदीय प्रणालीको रक्षा र संस्थागत गर्नुपर्ने ठान्दछ । जनआन्दोलनका उपलब्धिहरूमाथि आक्रमण भएको खण्डमा त्यसका विरूद्ध संघर्ष गर्दै नयाँ जनवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्दछ ।’
    फुटपरस्त तत्वहरूले मसाल नेतृत्वले माक्र्सवादका आधारभूत नीतिहरूलाई संशोधन गरेको बताएका छन् । त्यस सिलसिलामा उनीहरूले खाली एउटै कुराको मात्र उल्लेख गरेका छन् : ‘मसाल नेतृत्वले सामन्तवादसितको नेपाली जनताको अन्तर्विरोधलाई प्रधान ठान्दछ ।’

    प्रथम कुरा त यो हो कि हाम्रो पार्टीले नेपाली जनताको सामन्तवाद र भारतीय साम्राज्यवाद दुवैसितको अन्तरविरोधलाई प्रधान ठान्दछ । यहाँ उनीहरूले खाली सामन्तवादसितको अन्तरविरोधलाई मात्र प्रधान भएको बताएका छन् । उनीहरूको त्यो भनाइले दुईवटा कुरालाई बताउँछ : प्रथम, उनीहरूले सामन्तवादसितको अन्तरविरोधलाई गौण बताउँछन् । जनवादी क्रान्तिको कुरा गर्ने, देशमा अर्धसामन्ती र अर्धऔपनिवेसिक भएको कुरालाई स्वीकार गर्ने तर सामन्तवादसितको अन्तरविरोधलाई प्रधान बताउने कुराको विरोध गर्ने– यो नयाँ जनवादी क्रान्तिको एउटा आधारभूत पक्षलाई निषेध गर्नु हो । द्वितीय, उनीहरूले भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई अस्वीकार गर्दछन् । उनीहरू भारतलाई साम्राज्यवादी होइन, विस्तारवादी नै ठान्छन् र त्यसरी त्योसितको अन्तरविरोधलाई अपेक्षकृत रुपमा कमजोर गराउन पुग्दछन् ।

    सामन्तवादसितको अन्तरविरोधलाई प्रधान ठान्ने सोचाइको विरोध गरेर उनीहरू प्रतिगमनका नजिक पुग्दछन् र त्यसका विरूद्ध संघर्ष गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्दछन् । त्यसैले उनीहरूले राजतन्त्रको पुनस्र्थापनाको खतराका विरूद्धको संघर्षलाई विरोध गर्दछन् र त्यस प्रकारको खतराको बेलामा पनि गणतन्त्र वा संसदीय प्रणालीको रक्षामा जोड दिनुपर्ने आवश्यकतालाई अस्वीकार गर्दछन् । यो सबैलाई थाहा भएको कुरा हो कि अहिले देशमा विद्यमान गणतन्त्र, बहुदलीय व्यवस्था र धर्मनिरपेक्षता जनताको लामो संघर्षपछि प्राप्त उपलब्धीहरू हुन् । अहिले प्रतिगामी शक्तिहरू, ओली र भारतका कट्टर हिन्दुवादी शासकहरूले तिनीहरूलाई समाप्त गर्न अभियान चलाइरहेको बेलामा तिनीहरूको रक्षा होइन, तिनीहरूमाथि नै प्रहार गर्ने उनीहरूको नीतिबाट उनीहरूले राजावादीहरूको प्रतिगामी अभियानको नै सेवा गर्ने कुरामा कुनै शंका रहन्न ।

    उनीहरूले नीतिगत रूपमा यो स्वीकार गर्दछन् : ‘जनआन्दोलनका उपलब्धिहरूमाथि आक्रमण भएको खण्डमा त्यसका विरूद्ध सङ्घर्ष गर्दै नयाँ जनवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्दछ ।’ जनआन्दोलनका उपलब्धिहरू भनेका गणतन्त्र, बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता आदि नै हुन् । आज तिनीहरूका विरूद्ध चौतर्फी रूपमा आक्रमण भइरहेको छ । राजावादीहरूले ता त्यसका लागि करिब १२ वर्षदेखि नै अभियान चलाइरहेका छन् । अब त्यो अभियानमा ओली थपिएका छन् र भारतका कट्टरपन्थी हिन्दु शासक वर्गहरूले पनि उनीहरूलाई मदत गरिरहेका छन् । त्यसरी जनआन्दोलनका उपलब्धिमाथि यति ठूलो खतरा पैदा भएको बेलामा उनीहरूले त्यसका विरूद्धको संघर्षमा जोड दिने हाम्रो पार्टीको नीतिलाई विरोध गरिरहेका छन् । त्यो नै प्रतिगमनउन्मुख दिशा हो । उनीहरूको त्यस प्रकारको सोचाइबाट यो कुरामा शंका रहन्न कि आफ्नोे त्यस प्रकारको प्रतिगमनउन्मुख राजनीतिलाई अगाडि बढाउन नै उनीहरूले नेकपा (मसाल)मा फुट पार्ने काम गरेका हुन् ।

    जनआन्दोलनका उपलब्धिमाथि यति ठूलो खतरा पैदा भएको बेलामा उनीहरूले त्यसका विरूद्धको संघर्षमा जोड दिने हाम्रो पार्टीको नीतिलाई विरोध गरिरहेका छन् । त्यो नै प्रतिगमनउन्मुख दिशा हो ।

    सिद्धान्ततः कार्यनैतिक रूपमा सरकारमा जाने वा चुनावको उपयोग गर्ने नीतिलाई उनीहरूले पनि गलत बताउन सक्दैनन् तर उनीहरूको विरोध यो कुरामा छ कि हामीले तिनीहरूलाई रणनीतिक रूप दिइरहेका छौँ । त्यो कुरा सत्य होइन । यदि हामीले सरकारमा जाने नीतिलाई रणनीतिक नै बताएको भए हामीले प्रत्येक पल्ट सरकारमा जाने नीति अपनाउने थियौँ । तर आम रूपमा थाहा भएको कुरा हो कि ओलीले सरकारमा सामेल हुन वा उपसभामुख बन्न प्रस्ताव राख्दा पनि राजमोले त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो । अहिले गठबन्धनको सरकारमा सामेल हुनको लागि प्रस्ताव आएको थियो । तर त्यसलाई पनि राजमोले अस्वीकार गरेको थियो । त्यस भन्दा पहिले पनि माओवादी र एमालेको सरकारको विघटन भएपछि त्यो सरकारमा सामेल भएका कैयौँ पक्षहरू पुनः माओवादी र नेकाको संयुक्त सरकारमा सामेल भएका थिए । त्यो बेला पनि हामीले सरकारमा जाने नीति अपनाएका थिएनौँ । त्यसरी हाम्रा विरूद्धको फुटपरस्तहरूको आरोप कति निराधार र गलत छ ? प्रष्ट छ । चुनावलाई रणनीतिक रूपमा उपयोग गरेको भन्ने आरोप बारे त पहिले नै चर्चा भइसकेको छ त्यसैले यहाँ पुनः त्यसलाई दोहोर्याउनु पर्ने आवश्यकता छैन ।

    त्यो वक्तव्यमा लेखिएको छ : ‘सर्वहारावर्गको अधिनायकत्व माक्र्सवादको गुदी कुरो हो । त्यसलाई पार्टी नेतृत्वले ‘कुनै पनि देशको अवस्था अनुसार नै प्रयोग गर्नुपर्छ’ भनेर सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई नै परिवर्तन गर्न खोजेको छ ।’ वास्तवमा सर्वहारा वर्गको अधिनायकत्वलाई सिद्धान्ततः नै अस्वीकार गर्नु दक्षिणपन्थी संशोधनवाद हो तर त्यसको प्रयोग बेग्ला बेग्लै देशको स्थिति अनुसार नै हुन्छ । नयाँ जनवादी क्रान्तिको कालमा माओले सर्वहारावर्गको अधिनायकवाद होइन, जनताको अधिनायकत्वलाई अपनाएका थिए । त्यही प्रकारले हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको कालमा सर्वहारा वर्गको अधिनाकत्वमा होइन, जनताको अधिनायकत्वमा नै जोड दिएका छौँ । हाम्रो यो सोचाइले नयाँ जनवादी क्रान्तिको कालमा चीनमा माओले अपनाएको नीतिसित मेल खान्छ । त्यसरी सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई नै परिवर्तन गर्न खोजेको भन्ने हाम्रो पार्टीमाथिको आरोपले स्वयम् माओको विचारधारा सम्बन्धी उनीहरूको अस्पष्ट सोचाइलाई नै बताउँछ ।

    नयाँ जनवादी क्रान्तिको कालमा माओले सर्वहारावर्गको अधिनायकवाद होइन, जनताको अधिनायकत्वलाई अपनाएका थिए । त्यही प्रकारले हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको कालमा सर्वहारा वर्गको अधिनाकत्वमा होइन, जनताको अधिनायकत्वमा नै जोड दिएका छौँ ।

    वक्तव्यमा भनिएको छ : ‘सबै छरिएर रहेका कम्युनिस्टहरूसित एकल वा समूहगत रूपमा एक ठाउँमा उभिने प्रयास गर्दै कम्युनिस्ट धु्रवीकरणको कार्यलाई अगाडि बढाउन प्रयत्न गर्ने छौँ ।’ त्यस सिलासिलामा अगाडि लेखिएको छ : ‘समन्वय समितिले पार्टी नेतृत्वसित अझै पनि सच्चिएर आउन र विशेष महाधिवेशन गर्न अपील गर्ने छ । त्यो कुरा नेतृत्वले अस्वीकार गरेको खण्डमा हामी एक वर्षभित्र नेपालको एउटा अनुशासित, जुझारु, मिलिटेण्ट र संघर्षशील कम्युनिस्ट पार्टीको निर्माण गर्ने कुरामा प्रतिवद्ध छौँ ।’ उनीहरूको यो भनाइभित्र दुइवटा कुराहरू उल्लेखनीय छन् । प्रथम, सबै छरिएर रहेका कम्युनिस्टहरूसित एक ठाउँमा उभिन प्रयत्न गर्दै कम्युनिस्ट धु्रवीकरणको कार्यलाई अगाडि बढाउन प्रयत्न गर्ने छौँ । द्वितीय, एक वर्षभित्र नेपालको एउटा अनुशासित, जुझारु, मिलिटेण्ट र संघर्षशील कम्युनिस्ट पार्टीको निर्माण गर्ने ।

    उनीहरूका माथिका दुवै कुराहरूको वास्तविक सारतत्व के हो ? त्यसमाथि केही विचार गरौँ । उनीहरूले ‘कम्युनिस्ट धु्रवीकरण’को कुरा गर्दा कम्युनिस्ट पार्टीहरूसित भन्न सकेका छैनन् र खाली कम्युनिस्टहरूसित मात्र भनेका छन् । उनीहरूले ‘कम्युनिस्ट पार्टीहरू’ भनेर किन लेख्न सकेनन् ? त्यो कुराले गम्भीर अर्थ राख्दछ । पहिले उनीहरूले जारी गरेको रेकर्ड गरिएको कामरेड कृष्ण पौडेलको भाषणमा नयाँ जनवाद पक्षधर पार्टीहरूसित धु्रवीकरण गरेर विशाल पार्टीको गठन गर्ने कुरा गरेका थिए । तर अब उनीहरूले नयाँ जनवाद पक्षधर मात्र होइन, कम्युनिस्ट पार्टीहरूसित पनि धु्रवीकरण गर्ने कुरा लेख्न सकेका छैनन, जोसित उनीहरूले धु्रवीकरण गर्न सकून् । त्यसरी उनीहरूको धु्रवीकरणको कुरा एउटा हवाई कुरा मात्र हो । यदि उनीहरूले साँच्चिकै धु्रवीकरणको योजना बनाएको भए को–कोसित धु्रवीकरणको सम्भावना छ ? त्यो पनि खुलाएर लेख्न सक्नुपर्दथ्यो ।

    उनीहरूको धु्रवीकरणको कुरा एउटा हवाई कुरा मात्र हो । यदि उनीहरूले साँच्चिकै धु्रवीकरणको योजना बनाएको भए को–कोसित धु्रवीकरणको सम्भावना छ ? त्यो पनि खुलाएर लेख्न सक्नुपर्दथ्यो ।

    उनीहरूले एक वर्षमा नेपालको एउटा अनुशासित जुझारू, मिलिटेण्ट र संघर्षशील कम्युनिस्ट पार्टीको निर्माण गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । तर कुनै सिद्धान्त वा कार्यक्रम बिना त्यस प्रकारको पार्टीको निर्माण हुन सक्दैन । उनीहरूले प्रेषित गरेको वक्तव्यमा त्यस प्रकारको एउटा पनि कार्यक्रमको उल्लेख गर्न सकेका छैनन् । उनीहरूको वक्तव्यमा खाली दुइटा कुराहरूको मात्र उल्लेख गरिएको छ । एउटा, शान्तिपूर्ण संघर्ष । अर्को, चुनावको उपयोगको कार्यनीति । ती दुवै नीतिहरू पहिलेदेखि हामीले अपनाउँदै आएका नीतिहरू हुन् । ती दुवै नीतिहरूलाई उनीहरूले दक्षिणपन्थी घोषित गरिसकेका छन् । ती बाहेक उनीहरूले कुनै क्रान्तिकारी कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन् । अनि उनीहरूले के आधारमा त्यस प्रकारको पार्टीको निर्माण गर्ने छन् ? तैपनि उनीहरूले बढी भन्दा बढी एक वर्षमा एउटा क्रान्तिकारी पार्टीको निर्माण गर्ने कुरा मात्र लेखेका छन् । त्यो बाहेक उनीहरुको राजनीतिक क्रान्तिकारी कार्यक्रम के हो ? उनीहरूको गन्तव्य के हो ? त्यसबारे एक शब्द पनि लेख्न सकेका छैनन् ।

    हावामा त त्यस प्रकारको पार्टीको निर्माण हुन सक्दैन । उनीहरूका अगाडि पार्टी निर्माणको लागि खाली दुइटा मात्र आधार रहेका छन् : प्रथम, गालीगलौजको राजनीति । द्वितीय, प्रतिगमन उन्मुख राजनीति, अर्थात् गणतन्त्र र बहुदलीय व्यवस्थामाथि आक्रमण गरेर राजावादीहरूको राजनीतिको सेवा । कैयौँ प्रतिक्रियावादीहरूले पनि धेरै मानिसहरूलाई सदस्य बनाउन देशका कैयौँ भागमा आफ्ना समितिहरू बनाउन वा कैयौँ कार्यक्रमहरू सञ्चालन गर्न सफल हुने गरेका छन् । तर त्यो मुख्य प्रश्न होइन, मुख्य प्रश्न यो हो : उनीहरूले के आठौँ महाधिवेशनको नीतिलाई दक्षिणपन्थी घोषित गरेपछि त्यो भन्दा बेग्लै र उच्च प्रकारको क्रान्तिकारी कार्यक्रम र आन्दोलन अगाडि बढाउन सक्ने छन् ? तर गालीगलौज र प्रतिगमन दिशाउन्मुख राजनीतिका आधारमा कहिल्यै पनि क्रान्तिकारी पार्टीको निर्माण वा क्रान्तिकारी आन्दोलन अगाडि बढ्न नसक्ने कुरा स्पष्ट छ ।

    उनीहरूले के आठौँ महाधिवेशनको नीतिलाई दक्षिणपन्थी घोषित गरेपछि त्यो भन्दा बेग्लै र उच्च प्रकारको क्रान्तिकारी कार्यक्रम र आन्दोलन अगाडि बढाउन सक्ने छन् ? तर गालीगलौज र प्रतिगमन दिशाउन्मुख राजनीतिका आधारमा कहिल्यै पनि क्रान्तिकारी पार्टीको निर्माण वा क्रान्तिकारी आन्दोलन अगाडि बढ्न नसक्ने कुरा स्पष्ट छ ।

    माले र माओवादीहरूले हाम्रो पार्टीको भन्दा बेग्लै र क्रान्तिकारी आन्दोलन अगाडि बढाउन उग्र‘वामपन्थी’ दिशा समातेका थिए । तर अन्तमा उनीहरू दक्षिणपन्थी दलदलमा फस्न पुगेका थिए । तर उनीहरुले परिस्थितिको ख्याल नगरिकन त्यस प्रकारको नीति अपनाएको हुनाले उनीहरूको त्यो नीति उग्र‘वामपन्थी’ भडकाव सावित हुन गयो र अन्तमा उनीहरू दक्षिणपन्थी दलदलमा फस्न पुगेका थिए । तर हाम्रा नयाँ फुटपरस्त साथीहरू प्रारम्भमा नै प्रतिगमनउन्मुख दिशा समात्न पुगेका छन् । त्यस प्रकारको राजनीति र गालीगलौजको भरमा उनीहरू कहाँसम्म जान सक्ने छन् ? त्यो स्पष्ट हुन शायद धेरै समय लाग्ने छैन ।

    हाम्रो पार्टीबाट यस भन्दा पहिले पनि कैयौँ गुट वा व्यक्तिहरू फुटेर जाने गरेका छन् र उनीहरूले नेकपा (मसाल)का नामका, पार्टीहरू पनि बनाउने गरेका कैयौँ उदाहरणहरू छन् । तर उनीहरूको भविष्य वा परिणाम के भयो ? उनीहरू या त अन्य पार्टीमा विलय हुँदै गए वा उनीहरूले एक वा अर्को प्रकारले दक्षिणपन्थी वा पतनको दिशा समात्दै गए, वा कम्युनिस्ट आन्दोलनको परिदृश्यबाट उनीहरू सँधैको लागि हराएर गए । हामीले आशा र कामना गर्दछौँ, हाम्रा नयाँ फुटपरस्त साथीहरूको त्यसरी पतन नहोस् र उनीहरू जसरी र जुन रूपमा भएपनि क्रान्तिकारी, वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनमा अगाडि बढ्दै जाऊन् । त्यसो भएमा, जस्तो कि हाम्रो पार्टीबाट फुटेर गएका अन्य कैयौँ पक्षहरूका सन्दर्भमा हुने गरेको छ, भविष्यमा गएर कतै न कतै हाम्रो उनीहरूसित भेट हुनेछ ।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.