दाङ । राष्ट्रिय जनमोर्चा, दाङको गढवा गाउँपालिका वडा नं ६ र ७ को संयुक्त भेला सम्पन्न भएको छ । भेलामा राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
त्यसक्रममा अध्यक्ष आचार्यले राजनीतिको आवरणमा गलत प्रवृत्तिहरु स्थापित हुँदै गएकोले राष्ट्रिय जनमोर्चाका कार्यकर्ता र आम नागरिकहरु त्यसका विरुद्धमा एकाकार भएर अगाडि बढ्नु पर्ने कुरा बताउनु भयो ।
उहाँले अहिले राजनीतिक निष्ठा र आदर्शमा तीब्र स्खलन आइरहेकोले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु सतिसाल झैँ अडिग हुनुपर्नेमा पनि जोड दिनुभयो ।
राजमो वडा नम्बर ६ का अध्यक्ष खुमानन्द पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सल्लाहकार गुणनिधी शर्मा, जिल्ला सदस्य कपिलदेव खनाल, अखिल नेपाल महिला संघ गढवा गाउँपालिका सदस्य सिवा आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
युवराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य दिनमणि आचार्यले गर्नु भएको थियो ।