काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सकिएको मत परिणाम अनुसार कमल थापालाई पराजित गर्दै नेतृत्वमा लिङ्देनको उदय भएको हो । अध्यक्ष लिङ्देनले एक हजार ८१७ मत प्राप्त गर्नुभएको छ भने थापाले एक हजार ६१७ मत प्राप्त गर्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई पराजित कमल थापाले बधाई दिँदै महाधिवेशनमा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै आफूले ‘राहत र उन्मुक्ति पाएको’ बताउनुभएको छ ।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’ थापाले लेख्नुभएको छ, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
राप्रपा अध्यक्षमा कमल थापा पराजित भएपनि पदाधिकारीतर्फ भने थापा प्यानलका अधिकांश विजयी भएका छन् । निर्वाचन आयोगले आइतवार बिहान भृकुटीमण्डपमा घोषणा गरेको परिणाममा थापा पक्षले पदाधिकारीमा पकड बनाएको हो।
आयोगको विवरण अनुसार उपाध्यक्ष, महामन्त्रीसहितका पदमा थापाको प्यानलबाट उठेकाहरुले जित निकालेका छन् । सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ । उहाँले उपाध्यक्षमा सर्वाधिक २५ सय २१ मत ल्याउनुभएको छ ।
त्यस्तै अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानलाई मत परेको छ ।त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय हुनुभएको छ ।
उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२ सय २१ मतसहित विजयी हुनुभएको छ । अर्को महामन्त्रीमा थापा प्यानलका भुवन पाठक १८०५ मतसहित विजयी हुँदा महिला महामन्त्रीमा नायिक रेखा थापालाई पराजित गर्दै कमल थापा प्यानलकी कुन्ती शाही विजयी हुनुभएको छ ।