काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्यभार दिएर विदामा बस्नुपर्ने बताउनुभएको छ । हाल कोरोना संक्रमण भएर उपचाररत प्रधानन्यायाधीश राणाले कार्यवाहक दिएर अदालत सुचारु गर्नुपर्ने बताउनुभएको हो ।
प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उपाध्यक्ष पौडेलले अदालतलाई सुचारु रुपमा अघि बढाउन प्रधानन्यायाधीशले बाटो खोलिदिनुपर्ने बताउनुभयो । यद्यपी प्रधानन्यायाधीश राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कसैलाई कार्यवाहक नदिने र आफै प्रधानन्यायाधीशको काम गर्ने राणाको तर्क छ ।
पौडेलले बिहीबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा पनि प्रधानन्यायाधीश जबरालाई हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सुरुदेखि नै न्यायालयमाथि हस्तक्षेप गर्न हुँदैन भनेर भनेको पनि स्मरण गराउनुभयो ।
उहाँले आफूहरुले प्रधानन्यायाधीश जबरालाई हटाउनुपर्छ भनेर कुनै छलफल नगरेको र आफ्नो पार्टीले राजीनामा पनि नमागेको स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्यायाधीश हटाउने एकमात्रै विकल्प महाभियोग भएको तर आफूहरुसँग दुई तिहाई नभएको पनि स्मरण गराउनुभयो । नेपाल बार एसोसिएसनले गरेको आन्दोलनलाई आफ्नो पार्टीको समर्थन रहेको पनि पौडेलले बताउनुभयो ।
पौडेलले संसद विघटनविरुद्ध प्रधानन्यायाधीश राणा नेतृत्वको सर्वोच्चको संवैधानिक इजलासले दिएको आदेश सकारात्मक भएको पनि बताउनुभयो ।
फरक प्रशंगमा नेत्री पौडेलले अहिले पनि प्रतिगमनको खतरा कायम रहेको भन्दै पाँच दलीय गठबन्धनको औचित्य कायमै रहेको बताउनुभयो । प्रतिगामी शक्तिहरुको गठबन्धन बनिरहेको सन्दर्भमा प्रतिगमनबाट जोगाउन पाँच दलीय गठबन्धन आवश्यक रहेको उहाँको भनाई थियो ।
पौडेलले देशमा संघीयताको औचित्यता समाप्त भएको पनि स्पष्ट पाुर्नभयो । प्रदेश संरचनाको कुनै काम नभएकोले खारेज गर्नुपर्ने उहाँको भनाई थियो ।
पहिले संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चा एक्लै भएपनि अहिले जनताले बुझ्दै गएका र विभिन्न पार्टीमा पनि संघीयताविरुद्धको जनमत बढ्दै गएको पौडेलले जिकीर गर्नुभयो ।
नेत्री पौडेलले कुनै पनि हालतमा एमसीसी पास हुन नहुने पनि बताउनुभयो ।