काठमाडौं । राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।
राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उहाँले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिनुभयो ।
एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उहाँको भनाई छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भु–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । तर, कालापानी, लिपुलेक लिम्पियाधुरा जस्ता भारतबाट अतिक्रमित क्षेत्रमा भने जनगणना हुन सकेन । ती क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने विभागको भनाई छ । जनाएको छ ।
यस्तै, महानिर्देशक श्रेष्ठले गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उल्लेख गर्नुभयो । भारतले आफ्नो बाटो प्रयोग गर्न नदिएपछि चार दिनको जोखिमपूर्ण यात्रा गर्दै छाङरु पुगेका उनीहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याइएको थियो ।