काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । सोमबार साँझ मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरेर उहाँले पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीले सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमति अनुसार राजीनामा दिएर नयाँ सरकारको ढोका खोलिदिनुभएको हो ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै पूर्व सहमति अनुसार अब कर्णालीमा नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्नुहुनेछ ।
शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नुभएको थियो । तत्कालीन नेकपा खारेजीमा परेर माओवादी केन्द्र ब्यूँतिएपछि शाहीले गत वैशाख ३ गते विश्वासको मत लिनुभएको थियो ।
शाहीलाई मुख्यमन्त्रीमा टिकाउन त्यसबेला माओवादीले कांग्रेससँग ६÷६ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो। पहिलो ६ महिना शाही र बाँकी समय जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ । सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेश सभामा सबै भन्दा ठुलो दल रहेको सरकारको नेतृत्व पाउनुपर्ने बताउनु भयो । नेकपा एकीकृत समाजवादीको कार्तिक १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने आफूहरुले पाउनुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबै भन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
यता कार्तिक १० गते बागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ । यस्तै आज प्रदेश नं १ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ । प्रदेश नं १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित छ ।
सबै तिर गठबन्धनबाट सरकार बनाउने सहमति भए अनुसार प्रदेश सरकारहरुमा नेतृत्व हेरफेर भएको छ । गठबन्धनको सहमती अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओबादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टी दाबी गरेको छ ।