काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।
सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग साँगठगाँठ गरिरहेको आरोप लगाउनुभएको हो ।
एमाले ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर आफूलाई गणतन्त्र पटक्कै मन नपरेको र यसलाई अन्त्य गराउने उपायको खोजीमा रहेको प्रचण्डको दाबी छ । बाध्य भएर मात्र ओलीले गणतन्त्र स्वीकार गरेको तर अहिले पनि उनी भित्रभित्र गणतन्त्रविरुद्ध लागिरहेको प्रचण्डको जिकिर छ।
‘उनले भन्थे सधैँ मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन पर्या छैन । मलाई यो समानुपातिक समावेशी भनेर दलित, महिलालाई कोटा छुट्याको पनि मन पर्या छैन’, प्रचण्डले भन्नुभयो, ‘अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभरि यो गणतन्त्र मन परेकै होइन, बाध्यताले गरेको हो, त्यसकारण मौका आयो भने यो उल्ट्याउने हो भनेछन् ।’